प्रधानमन्त्री पुष्पकमल दाहालले देश अब चुनावमय भएको बताएका छन्।
सोमबार साँझ मन्त्रिपरिषद् बैठकले स्थानीय तहको निर्वाचन वैशाख ३१ मा गर्ने निर्णयपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहाले ऐतिहासिक निर्णय भएको उल्लेख गर्दै देश अब चुनावमय भएको बताए।
‘हामीले मधेसी मोर्चाका मागका बारे पनि आज दिउँसो छलफल गर्यौं, उहाँहरुलाई समेट्न भोलिदेखि संशोधन प्रक्रिया अगाडि बढ्छ,’ प्रधानमन्त्री दाहालले भने, ‘निर्वाचनको मिति घोषणा भएपछि अब अब देश चुनावमय भएको छ।’
के भने प्रधानमन्त्रीले
आज दृणताको साथ निर्णय गरिएको छ। राजनीतिक दलहरूसँग समझदारी बनाउने पुरै कोशिश गरिएको छ। अब तपाईँ मिडियाँकर्मीले जसरी आज नेपालको इतिहासमा पहिलोपटक क्याबिनेटका तीन वटा बैठक गरियो। र अन्तिममा निर्वाचन मिति घोषणा गर्ने र एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने भनिएको छ। लोकतन्त्रको रक्षाका लागि परिवर्तनका सबै मुद्दा र संविधानको कार्यान्वयनका निम्ति यो अपरिहार्य छ। यसलाई ऐतिहासिक निर्णयका रूपमा लिनुपर्छ।
हामीले यसको साथ साथै बिहानको निर्णय तपाईँले ध्यान दिनु भएकै छ। बिहान हामीले मधेस लगायत तराई र त्यस्तो जनसंख्याको आधारमा स्थानीय तहको संख्या बृद्धि गर्ने निर्णय पनि गरेका छौ। संशोधन विधेयक अगाडि बढाउने प्रक्रियालाई र संघीय आयोग बनाउने पनि आत्मसात गरेका छौ। त्यसकारण सबैलाई समेटेर निर्वाचन तिर लानुको कुनै बिकल्प छैन। अब निर्वाचनमा जानुको विकल्प छैन। आजको दिनलाई ऐतिहासिक दिनको रूपमा निर्णय भएको छ। तपाईँ मिडियाकर्मीले पनि आम जनतालाई अभियानको रूपमा निर्वाचन सफल बनाउन सहयोग गर्नुहोला। मुलुक अब निर्वाचनमा होमिइसक्यो।
संशोधन प्रक्रिया अब भोलिबाटै अघि बढ्छ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको हो।