जयबहादुर चन्दलाई नेपाल प्रहरीको आईजिपी नबनाउन माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथि बुधबार बहस हुँदैछ। यो बहस सुन्न अदालतमा भीड लागेको छ। वकिल र प्रहरी अघिपछिको समयमाभन्दा धेरै संख्यामा उपस्थित छन्। भित्र खचाखच भएका कारण पत्रकारलाईसमेत बस्ने ठाउँ नभएर बहस सुन्न गाह्रो भएको छ।
न्यायाधीशद्वय हरिकृष्ण कार्की र तेजबहादुर केसीको संयुक्त इजलासमा बहस हुन लागेको हो। अधिवक्ता कपिलदेव ढकालले गत माघ २८ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसमेत ५ र शेरबहादुर देउवासहित ४ जनाको नाममा सर्वोच्चमा रिट हालेका थिए। त्यसपछि फागुन १ गते डिआईजी नवराज सिलवालले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित ३ जनाविरुद्ध अदालतमा रिट दायर गरेका थिए।
डीआइजी नवराज सिलवालको रिट निवेदकको पक्षबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, बद्री बहादुर कार्की, अधिवक्ता टिकाराम भट्टराई, ओम प्रकाश अर्याल, बाबुराम कुँवर लगायतले बहस गर्दैछन्।
चन्द पक्षबाट वरिष्ठ अधिवक्ता महादेव यादव, शुशिल पन्त, अधिवक्ताहरु शेरबहादुर केसी, बसन्तराम भण्डारी, खम्बबहादुर खाती, माधव बस्नेत, यदुराज खनाललगायतले बहस गरिरहेका छन्।
आईजीपी चन्दको नियुक्ति विरूद्ध ढकाल र सिलवालले दायर गरेको रिट एकसाथ राखेर हेरिएको छ।