सरकारले स्थानीय तह निर्वाचन घोषणा गरेको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बुधवार गरेको मधेश बन्दका कारण महोत्तरीको जनजीवन प्रभावित भएको छ। सरकारविरुद्ध नाराबाजी प्रदर्शन गर्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता तथा नेताले बजार र पसलहरु पूर्णरूपमा बन्द गराएका छन्।
स्वस्फूर्त रुपमा सडकमा उत्रेका नेता तथा कार्यकर्ताले बुधबार बिहानैदेखि जलेश्वरको चौक चौकमा टायर बाली प्रदर्शन गरेका छन्। उनीहरुले विधालय पसल, बैंक तथा वित्तीय संस्थाहरुलाई पनि बन्द गराएका छन्।
मोर्चाका कार्यकर्ताहरुले सदरमुकाम जलेश्वर, मटिहानी, पिपरा, गौशाला, सम्सी, रामगेपालपुर बजार बन्द गराई आसपासका क्षेत्रमा मोटरसाईकल समेत चल्न दिइएको छैनन्।
बजार क्षेत्रका सडकहरु सुनसान भएका छन्। तर बर्दिवास बजार पूर्ण रूपमा खुलेका छन्।
मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले आउँदो बैशाख ३१ गतेका लागि स्थानीय तहको निर्वाचन गर्ने तिथि घोषणा गरेको थियो । सरकारी घोषणाको केही घण्टामै निर्वाचनको विरोधमा उत्रिएको मोर्चाले फागुन ११ गते मधेस बन्दको आव्हान गरेको थियो।
आन्दोलनकारीहरुले सरकारविरुद्ध नाराबाजी गर्दे आफूहरुको माग सम्बोधन नहुन्जेल कुनै पनि निर्वाचन हुन नदिने चेतावनी दिएका छन्।