च्याम्पियन्स लिगमा ४–० को पराजय भोगेपछि आलोचना खेपिरहेका बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर लिओनल मेसी १० वर्षको अन्तरालपछि मंगलबार इजिफ्टको कायरो पुगेका छन्।
मेसी समाजसेवाको उद्देश्यले कायरो पुगेका हुन्। उनी हेपाटाइटिस ‘सी’ को रोकथामका लागि खुलेको संस्था ‘टुर एन्ड क्योर’ का सद्भावनादूत हुन्।
‘म पछिल्लो पल्ट २००७ मा यहाँ आएको थिए। तर, त्यतिबेला अहिलेजस्तो प्यारामीडलाई राम्रोसँग हेर्न पाएको थिइन्। इजिफ्ट इतिहास बोकेको देश हो। यहाँ आउन पाउँदा खुसी लागेको छ,’ उनले भने।
मेसी कायरोमा उत्रिँदा उनलाई हेर्न ठूलो संख्यामा भीड लागेको थियो। कडा सुरक्षाव्यवस्थाका बीच उनी आफ्नो अभियानमा सक्रिय छन्। ‘पहिलो पल्ट प्यारामीड भएको क्षेत्र भित्र प्रवेश गर्न पाएको छु। म सानो हुँदा स्कुलमा यस क्षेत्रको ऐतिहासिक महत्वको विषयमा पढेको थिए,’ उनले अथ्र्याए।
उनी रायकार्डको प्रशिक्षणमा रहेको बार्सिलोना टोलीबाट फुटबल खेल्न पछिल्लो पल्ट आएका थिए। अल हेलीविरूद्धको मैत्रीपूर्ण खेलमा बार्सिलोना ४–० ले विजयी भएको थियो।
विश्व स्वास्थ्य संगठनका अनुसार हेपाटाइटिस ‘सी’ को कारणले वर्षमा ५ लाख व्यक्तिको निधन हुने गरेको छ। उनको यही भ्रमण गत डिसेम्बरमा तय गरिएको थियो। तर, कायरोको एउटा चर्चमा बम बिस्फोट भएपछि उनको निर्धारित भ्रमण रद्ध गरिएको थियो। बम बिस्फोटमा २९ जना मारिएका थिए।