चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा व्याप्त बेथितिविरुद्ध डा. गोविन्द केसीको सत्याग्रह चलिरहँदा त्यसको विरोध गर्ने दुईथरी मान्छे थिए- स्वास्थ्य व्यापारमा प्रत्यक्ष संलग्न नाफाखोरलाई डा. केसीको सत्याग्रहले चिडचिडाहाट हुनै नै भयो। अर्काथरी अर्थशास्त्रका त्यस्ता पण्डित थिए, जो स्वास्थ्य व्यापारलाई खुला बजारमा छाड्दा स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीको संख्या बढ्छ अनि जनताले सहज र सुलभ सेवा पाउँछन् भन्थे।
यी दोस्रो खालका मान्छेले सायद २० औं शताब्दीका एक प्रभावशाली अर्थशास्त्री मानिएका केनेथ एरोलाई पढेका थिएनन्। त्यसैले, उनीहरूले खुला बजारले स्वास्थ्य क्षेत्रमा पार्ने प्रभावको गलत विश्लेषण गरे।
अर्थशास्त्रका नोबेल विजेता केनेथ एरोको मंगलबार अमेरिकाको क्यालिफोर्नियामा ९५ वर्षको उमेरमा निधन भएको छ। कल्याणकारी अर्थशास्त्र, सामाजिक छनोट र बजार सन्तुलन (निर्वाचन सिद्धान्त, स्वास्थ्य अर्थशास्त्र, बिमा तथा वित्त बजार) को क्षेत्रमा पुर्याएको योगदानका लागि उनलाई सम्झिइनेछ।
सन् १९६३ मा प्रकाशित ‘अनसर्टेनिटी एन्ड द वेल्फेर इकोनोमिक्स अफ मेडिकल केयर’ शीर्षकको शोधपत्रमा उनले स्वास्थ्य सेवा बजार र बिमाको चर्चा गरेका छन्। उक्त शोधपत्रले स्वास्थ्य बजारको विशिष्ट अवस्थाको विश्लेषणका लागि आधार तयार पारेको थियो। परम्परागत रूपमा बुझिँदै आएको बजार प्रतिस्पर्धाले स्वास्थ्य उद्योगमा काम नगर्ने उनले तर्क गरेका थिए। प्रतिस्पर्धाले काम नगर्ने भएकाले स्वास्थ्यलाई बजारको हातमा छाड्न नहुने पक्षमा केनेथले जीवनको अन्तिमकालसम्म वकालत गरिरहे।
उनका अनुसार खुला बजार प्रतिस्पर्धाका लागि उत्पादक (बिक्रेता) र उपभोक्ता (खरिदकर्ता) को मोलतोल गर्ने शक्ति बराबर हुनुपर्छ। खरिदकर्ता वा बिक्रेताले एकपक्षीय ढंगबाट मूल्य निर्धारण गर्न सक्ने अवस्थालाई पूर्ण प्रतिस्पर्धा मान्न सकिँदैन।
केनेथका अनुसार बजारमा उचित मूल्य स्थापित हुन दुवै पक्षसँग बराबरी ज्ञान तथा सूचना उपलब्ध हुनुपर्छ। स्वास्थ्य क्षेत्रमा यस्तो अवस्था हुँदैन। सेवाप्रदायक चिकित्सकहरू सेवाग्राही बिरामीभन्दा धेरै जानकार हुन्छन्। यसले बिरामीहरू मोलतोल गर्ने अवस्थामै हुँदैनन्। चिकित्सकले तोकेको मूल्य तिर्न उनीहरू बाध्य हुन्छन्। त्यो मोल सही होइन भन्दै चुनौती दिने कुनै आधार उनीहरूसँग हुँदैन। रोगले थला पर्दा विशेषज्ञ चिकित्सकले जे–जे भन्यो, त्यसैअनुसार उपचार नगरी धर पाइँदैन।
औषधि खरिदमा पनि यही सिद्धान्त लागू हुन्छ। औषधिमा अन्य वस्तु वा सेवाजस्तो उपभोक्तालाई छनौटको सहुलियत हुँदैन। डाक्टरले लेखिदिएको औषधि चित्त नुबझाएर अर्को खान्छु भनी छनौटको अधिकार प्रयोग गर्ने बिरामी कोही हुँदैनन्। फलानो औषधि त महँगो छ, त्यस्तै प्रकृतिको अलि सस्तो औषधि लेखिदिनुस् भन्ने आँट पनि कुनै बिरामीलाई हुँदैन। जतिसुकै महँगो भए पनि डाक्टरले लेखिदिएकै औषधि प्रयोग गर्न बिरामी बाध्य हुन्छन्।
डाक्टरले कुनै उपचारको निम्ति शल्यक्रिया गर्नुपर्छ भने पनि वा अन्य जुनसुकै विधि अपनाउनुपर्छ भने पनि त्यसलाई चुपचाप स्वीकार गर्नुपर्ने बिरामीको बाध्यता हुन्छ।
सूचनामाथिको असमान पहुँचको यो स्थितिमा बजार शक्ति स्वास्थ्य क्षेत्रमा निष्प्रभावी हुने केनेथको मान्यता थियो। ‘स्वास्थ्य क्षेत्रमा उपभोक्ताले उत्पादनको परीक्षण गर्न सक्दैन। उत्पादकको विश्वास गर्नुबाहेक अर्को विकल्प उपभोक्तासँग हुदैन,’ एरोले आफ्नो शोधको निष्कर्ष उल्लेख गर्दै १९८५ मा लेखेका थिए, 'स्वास्थ्य क्षेत्रमा उपभोक्तालाई सेवा उपयोगको आवश्यकता कहिले पर्छ भन्ने पूर्व जानकारी पनि हुँदैन। यसका लागि उसले खर्चको जोहो कुन मात्रामा गर्ने भन्ने हुँदैन।'
स्वास्थ्य बिमाको कुरा गर्दा, यसले असीमित दायित्व बहन गर्दैन। खर्च बेहोर्ने बाचा गरेकै अवस्थामा पनि बिमा कम्पनीहरूको सक्दो प्रयास दायित्वबाट पन्छिने हुन्छ। यसैगरी उपभोक्ताबाट स्वास्थ्य बिमाको दुरुपयोग हुने सम्भावना पनि उत्तिकै हुन्छ।
यस्ता दृष्टान्त प्रस्तुत गर्दै केनेथले सरकार, बिमा कम्पनी तथा स्वास्थ्य संस्थाहरूको उपयोग तथा दुरुपयोगको विश्लेषण गरेका थिए। उनको यो शोधपछि नै अमेरिकामा स्वास्थ्य सेवा, बिमा, औषधिहरूको परीक्षण तथा प्रयोगमा ठूलो परिवर्तन आएको मानिन्छ।
एरोको अध्ययनको प्रभाव जति चुलिएको थियो, त्यति नै चुनौती पनि थिए। कुनै क्षेत्रमा बजारले काम गरेन र असफल भयो भने त्यसले संकट निम्त्याउँछ भनी मान्ने हो भने विकल्पमा आएको सरकार असफल हुँदा के होला? उनका आलोचक यही प्रश्न गर्थे। सरकार असफल भए महासंकट आउने दाबी उनीहरूको हुन्थ्यो। यसैले हुनसक्छ एरोले ओबामा केयरको आलोचनात्मक समर्थन गरेका थिए। स्वास्थ्य क्षेत्रमा क्यानडाले अवलम्बन गरेको मोडेलका उनी समर्थक थिए।
एरोले लामो समय स्ट्यान्डफोर्ड युनिभर्सिटीमा बिताए। ५१ वर्षको युवा उमेरमा नोबेल पाउने एरो सबैभन्दा कान्छो अर्थशास्त्री हुन्। उनलाई कल्याणकारी अर्थशास्त्र तथा प्रतिस्पर्धी बजारमा सामान्य सन्तुलन सिद्धान्तको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै नोबेल पुरस्कार दिइएको थियो।
गणित तथा तथ्यांकशास्त्रमा सिद्धहस्त एरोले अर्थशास्त्रका धेरै विषयलाई गणितीय ढाँचामा ढालेर विश्लेषण गरेका थिए। उनको विश्लेषण अर्थशास्त्र मात्र नभई समाजशास्त्र, राजनीतिशास्त्र तथा दर्शनशास्त्रमा पनि उपयोगी मानिन्छ। खासगरी दोस्रो विश्वयुद्धपश्चात विकसित विश्व परिवेश बुझ्न उनको अध्ययनले मद्दत गरेको थियो। उनले राष्ट्रपति जोन एफ केनेडीको आर्थिक सल्लाहकार समूहमा पनि केही समय काम गरेका थिए।
उनको परिवार चर्चित अर्थशास्त्रीहरूको परिवार थियो। उनका सम्धी, ज्वाईं, छोरी, बहिनी, भतिजा अर्थशास्त्री हुन्। उनले ११ वर्ष हार्वर्ड युनिभर्सिटीमा पनि पढाएका थिए भने पोप जोन पलको आर्थिक सल्लाहकार पनि भएका थिए।
(एजेन्सीको सहयोगमा)