ओलम्पियन धावक हरिकुमार रिमालले केन्यामा केही समयका लागि तालिम गर्ने भएका छन्। नेपाल आर्मीका मध्य दुरीका यी धावकलाई केन्यामा प्रशिक्षण लिनका लागि केन्याको एम्एच्योर एथलेटिक्स संघले निम्तो दिएको छ।
मध्य दुरी र म्याराथनमा केन्याका धावकहरू उत्कृष्ट मानिन्छन्। गत वर्ष रियोमा सम्पन्न ओलम्पिकमा केन्याले एथलेटिक्समा मात्र ६ स्वर्ण, ६ रजत र १ कास्य गरि १३ पदक जितेको थियो।
केन्याले ओलम्पिकमा मात्र ३० वटा स्वर्ण, ३७ रजत र २६ कास्य गरि ९३ पदक जितिसकेको छ। त्यसैले युवा विकाश योजनाअन्तर्गत केन्यामा प्रशिक्षण लिने अवसरलाई हरिले महत्वका साथ लिएका छन्।
‘अन्तर्राष्ट्रियस्तरका खेलाडीसँग सिक्न र अनुभव साट्न पाउने कुराले मलाई रोमाञ्चक बनाएको छ,’ रिमालले भने। उनी यसै मार्चमा केन्या उड्ने सम्भावना रहेको छ। ‘यहाँ ट्रेनिङ राम्रो भयो भने एसियाली खेलमा पदकको आशा राख्न सकिन्छ,’ उनले भने।
हरि रियो ओलम्पिकमा ५ हजार मिटरमा दौडिएका थिए। उनले त्यतिबेला १४ मिनेट ५४ दशमलव ४२ सेकेन्डमा दौड पुरा गरेका थिए। उनी ४६ औं स्थानमा रहेका थिए।