विवेकशील नेपाली दलले धुर्मुस–सुन्तली फाउन्डेसनको पुनर्निर्माण अभियानलाई सहयोग गर्न पाँच लाख रुपैयाँ दिएको छ। दलको कार्यालय काठमाडौँमा शनिबार आयोजित कार्यक्रममा फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेललाई रकम हस्तान्तरण गरिएको हो।
पुनर्निर्माणमा धुर्मुस सुन्तली फाउन्डेसनले गरेको कामलाई थप सहयोग पुगोस् भन्नका लागि यो सहयोग गरेको दलका प्रवक्ता रमेश पौड्यालले बताए। उनले भने, ‘भूकम्प गएलगत्तै भएको राहत तथा उद्धार कार्यक्रममा हामीलाई देश विदेशबाट प्राप्त भएको सहयोगको ठूलो हिस्सा त्यही काममा उपयोग भयो। उठेको कुल रकममध्ये बाँकी रहेको रकमको केही हिस्सा उहाँहरुले सुरु गर्नुभएको पुनर्निर्माण अभियानलाई पार्टीको तर्फबाट सहयोग प्रदान गरेका हौं।’
विवेकशीलले गरेको सहयोग आफूहरुका लागि धेरै महत्वपूर्ण भएको कट्टेलले बताए। ‘हामीलाई मुसहर बस्ति बनाउन अझै दुई करोड रुपैयाँ चाहिएको छ’, कट्टेलले भने, ‘उहाँहरुको सहयोगको महत्वपूर्ण छ। अझै अरुले पनि सहयोग गर्नुुहन्छ भन्ने आशा छ।’
वैशाख १ गते बस्ती हस्तान्तरण गर्ने गरी फाउन्डेसनले महोत्तरीमा मुसहर बस्ती पुनर्निर्माण गरिरहेको छ। कट्टेलले बाँकी अवधिमा पैसा उठेर बस्ती समयमै हस्तारण हुने विश्वास व्यक्त गरे।