क्लब व्यवस्थापनबाट असन्तुष्ट अर्जेन्टिनी स्टार लिओनल मेसीलाई खुसी तुल्याउन बार्सिलोनाले इभान राकिटिकलाई छोडेर इस्कोलाई क्लबमा भित्र्याउने योजना अगाडि बढाएको छ। स्पेनिस मिडफिल्डर इस्कोलाई रियल म्याड्रिडबाट भित्र्याउन गत साता मेसीले बार्सिलोनाको व्यवस्थापकलाई सुझाव दिएका थिए।
‘एमएसएन’को रुपमा बार्सिलोनामा विश्वका तीन खतरनाक स्ट्राइकर मेसी, लुइस सुआरेज र नेइमार आवद्ध भएपनि मिडफिल्डमा समस्या देखिदै आएको छ। च्याम्पियन्स लिगअन्तर्गत पहिलो लेगको खेलमा फ्रान्सको पेरिस सेन्ट जर्मनी(पिएसजी) क्लबबाट ४–० ले पराजित हुनुमा मिडफिल्डमा देखिएको कमजोरीलाई धेरैले आँकेका छन्।
त्यसैले भेलेन्सिया र मालागाबाट खेलिसकेका र हाल म्याड्रिडमा आवद्ध आक्रामक मिडफिल्डर इस्कोलाई अनुबन्धित गर्न मेसीले दबाब दिएका थिए।
क्लबले यही ‘समर’ मा हुने खेलाडी किनबेचमा इस्कोलाई भित्र्याउने सम्भावना छ। यसको सट्टा बार्सिलोनाले आफ्नो स्ट्राइकर क्रोएसियाका राकिटिक रियल म्याड्रिडलाई हस्तान्तरण गर्नु पर्नेछ।
म्याड्रिडले सन् २०१५ देखि नै राकिटिकलाई आँखा लगाउदै आएको थियो। लुइस एनरिकको प्रशिक्षणमा राकिटिक क्याटलान क्लबमा टिममा स्थान बनाउन संघर्ष गर्दै आइरहेका छन्। उनलाई यसअघि म्यानचेस्टर युनाइटेड नभए म्यानचेस्टर सिटीलाई बेच्ने खबर पनि आएको थियो।
बार्सिलोना अध्यक्षले पनि राकिटिकको बर्हिगमनमा इस्कोलाई क्लबमा भित्र्याउँदा त्यति ठूलो धक्का नलाग्ने प्रष्ट्याएका छन्।