नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले परिमार्जनसहित संविधान संशोधनको विषयलाई टुङ्ग्याउनु निर्वाचनको पहिलो सर्त भएको बताएका छन्।
नयाँ शक्ति नेपालले आज यहाँ आयोजना गरेको अन्तक्रियामा उनले भने, “सबैलाई निर्वाचनमा सहभागी बनाउन सरकारले संशोधनलाई टुङ्ग्याउनै पर्छ। यसमा हेलचेक्र्याईं गर्न हुँदैन, विषयको गम्भीरता बुझ्नुपर्छ।”
आफ्नो पार्टीले निर्वाचनका लागि आन्दोलनरत पक्षलाई समेटौँ भनेर बारम्बार भनेको उल्लेख गर्दै संयोजक भट्टराईले मूलतः मधेसी, थारू र आदिवासी जनजाति संविधानसँग असन्तुष्ट भएकाले उनीहरुलाई सहमतिमा लिन जरुरी भएको बताए।
स्थानीय तह, स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्रको टुङ्गो नलगाई गरिने निर्वाचनले गति नलिने भन्दै उनले सरकारले स्थानीय तहको सङ्ख्या र सिमानाको कुरा पहिले हल गर्नुपर्नेमा जोड दिए।
निर्वाचन गर्न प्रत्यक्ष, अप्रत्यक्ष २० अर्बभन्दा धेरै खर्च हुने उल्लेख गर्दै संयोजक डा भट्टराईले आगामी २०७४ साल माघ ७ गते सम्ममा सबै निर्वाचन गरिसक्नुपर्ने संवैधानिक प्रावधानलाई विचार गरेर तीनवटै निर्वाचन एकैसाथ गर्नु उपयुक्त र व्यावहारिक हुने धारणा राखे। रासस