१५ वर्षको अन्तरालमा ४० प्रशिक्षक बदलिएपछि इटालियन सिरिया क्लब पालेर्मोका अध्यक्ष माउरिजियो जाम्पारिनीले क्लब छोड्ने घोषणा गरेका छन्।
पालेर्मोले गत महिना मात्र दुई सिजनको अन्तरालमा ११ प्रशिक्षकलाई बर्खास्त गर्दै उरुग्वेका डिएगो लोपेजलाई क्लबको जिम्मेवारी सुम्पिएको थियो।
जाम्पारिनीले सन् २००२ मा क्लब किनेका थिए, त्यतिबेला पालेर्मो सिरियाको ‘बी’ श्रेणीको क्लब थियो। उनले आउँदो १५ दिन भित्र नयाँ अध्यक्षले क्लबको जिम्मेवारी सम्हाल्ने बताएका छन्।
‘नयाँ अध्यक्षको प्रतिनिधित्व एङ्लो–अमेरिकन लगानीकर्ता हुनेछन्,’ पालेर्मोको वेभसाइटमा बताइएको छ। ७५ वर्षीय जाम्पारिनीले क्लबको नेतृत्व सम्हाल्दा खेल मिलेमतोको आरोप खेप्नु परेको थियो। पालेर्मो क्लबको स्वामित्व खरिद गर्नुअघि जाम्पारिनी भेनेजिया क्लबको मालिक थिए। जुन अहिले इटालीको तेस्रो श्रेणीको फुटबल खेलिरहेको छ।
पालेर्मो अहिले सिरिया ‘ए’ को अंक तालिकामा १८ औं स्थानमा छ। २० क्लब सहभागी सिरियामा रेलिगेशन जोनबाट बाहिरिन पालेर्मोलाई सात अंक आवश्यक छ र क्लबले अझै १२ खेल खेल्न बाँकी छ।