क्रमशः डा. भरत यादव, डा. राजेन्द्र वाग्ले, डा. बुद्धिबहादुर थापा र राजकुमार रौनियार
सरकारले स्वास्थ्य मन्त्रालय अन्तर्गतका चार वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त गरेको छ। प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालले रिक्त रहेका मध्ये बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रमुख नियुक्त गरेका हुन्।
जसअनुसार बिपीमा डा. राजकुमार रौनियार, पाटनमा डा. भरत यादव, पोखरामा डा. बुद्धिबहादुर थापा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. राजेन्द्र वाग्लेलाई सरकारले उपकुलपतिको जिम्मेवारी तोकेको हो।
छनोट समितिको सिफारिसमा प्रधानमन्त्रीले उपकुलपति नियुक्त गरेका हुन्। सहकुलपति तथा स्वास्थ्यमन्त्री गगन थापाको संयोजकत्वमा बनेको उपकुलपति छनोट समितिले इच्छुक उम्मेदवारलाई कार्ययोजनासहित दरखास्त दिन आह्वान गरेको थियो।
पाटनमा १५, कर्णालीमा पाँच, धरानमा १६ र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १० जनाले उपकुलपतिका लागि दरखास्त पेस गरेका थिए।
प्रतिष्ठानका लागि छनोट समितिले तीन–तीन जना उम्मेदवारको नाम कुलपति एवं प्रधानमन्त्री दाहाल समक्ष सिफारिस गरेको थियो। स्वास्थ्य मन्त्री थापा संयोजक रहेको समितिमा स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेती र राष्ट्रिय योजना आयोगका सदस्य गीताभक्त जोशी सदस्य थिए।