अहोरात्र स्वास्थ्य सेवामा खटिरहेका गोरखाका विभिन्न गाउँका महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल सेट उपहार दिइएको छ।
जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाले नेपाल प्रजनन स्वास्थ्य सेवा केन्द्र (एनएफसिसी) र विभिन्न सङ्घसंस्थाको सहयोग र समन्वयमा स्वयंसेविकालाई मोबाइल उपलब्ध गराएको हो।
आफ्नो जिम्मेवारी र सेवामा उत्प्रेरणा जगाउँदै गाउँलेको सेवामा थप सहयोगी बन्दै लाग्ने विश्वासका साथ स्वयंसेविकालाई मोबाइल उपलब्ध गराउने चाँजोपाँजो मिलाइएको हो।
स्वयंसेविकाले थोरै सरकारी सेवा, सुविधा लिएर पनि दुर्गमदेखि सुगम गाउँसम्म पुगेर जनताको स्वास्थ्य सेवा, खोप, पोलियो थोपा, हात्तीपाइलेविरुद्धको औषधि खुवाउनेलगायत काम गर्दै आएका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालयका परिवार नियोजन सुपरभाइजर अधिकृत वीरबहादुर श्रेष्ठले जिल्लाका ६२४ जना स्वयंसेविकालाई मोबाइल सेट उपहार दिइसकेको र सिम, रिम पनि उपलब्ध गराउने कार्य भइरहेको जानकारी दिए । यीमध्ये विभिन्न २४ गाविसका स्वयंसेविकालाई केही समयका लागि रिचार्ज खर्चको समेत व्यवस्था गरिएको छ ।
रु दुई हजार मूल्य पर्ने मोबाइल सेट उपहार दिइएको हो । कार्यालयले दिएको मोबाइल सेट स्वयंसेविका छाडेको दिन फिर्ता गर्नुपर्नेछ । श्रेष्ठले भने – “स्वयंसेविकाका रुपमा काम गर्दासम्म यो मोबाइल सेट फिर्ता गर्नुपर्दैन । पदबाट छाडेको दिन नयाँ स्वयंसेविकालाई दिनुपर्छ । त्यो मोबाइल कार्यालय प्रयोजनका लागि हो ।”
एनएफसिसीले २१७, सेभ द चिल्ड्रेनले २१७ र टिपिओ नेपालले १९० थान मोबाइल सेट खरिद गरी जनस्वास्थ्य कार्यालयमा बुझाएपछि स्वयंसेविकाको मोबाइल उपहार दिइएको कार्यालयले जनाएको छ । कार्यालयले तोकेको नम्बरबाट कामका लागि फोन गर्दा सहज हुने रहेछ” – उनले भने। रासस