प्रमुख प्रतिपक्षी एमालेको ‘सुखानीका सहिद दिवस’ को दिन पारेर आजदेखि तराईकेन्द्रित १५ दिने मेची महाकाली राष्ट्रिय अभियान सुरु गर्दै छ । ‘संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि र स्वाभिमान : राष्ट्रिय एकता र सामाजिक सद्भावका लागि मेची–महाकाली अभियान’ भन्ने मूल नाराका साथ झापाको का“कडभिट्टाबाट सुरु हुने अभियानको उद्घाटन अध्यक्ष केपी ओलीले गर्दै छन् ।
संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि, स्वाभिमान, राष्ट्रिय एकताका र सामाजिक सद्भावका लागि गरिएको सो १५ दिने अभियानका लागि पार्टीका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र भीमबहादुर रावल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङलगायत नेता झापा आएका छन्। यस्तै तराईबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरू, सांसदहरू झापा पुगेका छन् ।
स्थानीय साल्बारी, सुखानी, गरामनी र ज्यामिरगढीमा अलग अलग कार्यक्रम गर्ने र नेताहरु पुगेर श्रद्धाञ्जलि दिने कार्यक्रम रहेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए।
‘झापा विद्रोह’ मा संलग्न अध्यक्ष अध्यक्ष ओली र अन्य नेताहरु सुखानी उद्यानमा पुगी सहिदप्रति श्रद्धाञ्जलि दिएर अभियानको औपचारिक शुभारम्भ गरिएको छ ।
तत्कालीन निरङ्कुश पञ्चायती व्यवस्थाको विरोधका क्रममा गिरफ्तारमा परेका झापा विद्रोहका पाँच नेतालाई सरकारले विसं २०२९ फागुन २१ गते कारागार सरुवाका नाममा झापाको चन्द्रगढीबाट इलामको सुखानीस्थित जङ्गलमा लगी दिउँसै गोली हानी हत्या गरेको थियो ।
सहादत पाउनेमा रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठ थिए। गत वर्ष सरकारले उनीहरुलाई सहिद घोषणा गरेको थियो । लोकतान्त्रिक २०६२/०६३ को आन्दोलनको सफलतापछि सरकारले एमालेका पूर्वनेता तथा वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितको संयोजकत्वमा गठित सहिदको मापदण्ड निर्धारणसम्बन्धी सुझाव समितिले ती पाँच योद्धालाई सहिद घोषणा गर्न सिफारिस गरेको थियो ।
झापाको काकडभिट्टाबाट सुरु हुने सो अभियान कञ्चनपुर हुँदै आगामी चैत ५ गते सुर्खेत पुगेर समापन हुनेछ। आजै झापाको बिर्तामोड र दमकमा अभियानअन्तर्गतका कार्यक्रम हुँदैछन्। संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि, स्वाभिमान, राष्ट्रिय एकताका र सामाजिक सद्भावको नारा रहेको सो अभियानका लागि नेपाली, मैथिली, थारु, डोट्याली र भोजपुरी भाषामा प्रचार सामग्री वितरण गरिएको छ।
तराईको पूर्व–पश्चिम राजमार्गकेन्द्रित अभियानमा ३३ स्थानमा आमसभा, र्याली र सांस्कृतिक कार्यक्रम गर्ने एमालेको तयारी छ । र्याली र सभामा ५० लाख तराईवासीबीच पुग्ने गरी १५ लाखसम्मको जनपरिचालन गर्ने एमालेले दाबी गर्दै आएको छ ।