राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले सरकारले आफूहरुको माग सुनुवाई नगरेको भन्दै आपत्ति जनाएको छ।
गठबन्धनले सरकार मुस्लिम समुदायको मागलाई सम्बोधन गर्न गम्भिर नदेखिएको दावी गर्दै सशक्त आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिएको छ। शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी गठबन्धनका अध्यक्ष समीम मियाँ अन्सारीले सरकारले आफूहरुलाई बेवास्ता गरेको भन्दै आपत्ति जनाए।
उनले मुस्लिम समुदायको माग सम्बोधन गर्न सरकार तयार नभएको भन्दै कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि दिए। गठबन्धनले मुस्लिम समुदायको हक, अधिकार सुनिश्चित हुनेगरी संविधान संशोधन नभए निर्वाचनमा जान नसकिने पनि स्पष्ट पारेको छ।
गठबन्धनले वर्तमान सरकारले मधेशी मोर्चालाई मात्रै प्राथमिकता दिएकोमा पनि असन्तुष्टि व्यक्त गरेको छ । गठबन्धनले सरकारसँग मुस्लिम समुदायलाई अधिकारसहितको पहिचान दिनुपर्ने, धर्म निरपेक्षता संस्थागत गर्नुपर्ने, समानुपातिक समावेशी राज्यको प्रत्याभूति हुुनुपर्ने लगायतका माग गर्दै आएको छ । सरकार र सत्तारुढ दलहरुले संविधान संशोधनको विषयमा समेत छलफल नगरेपछि गठबन्धन झनै आक्रोशित भएको हो ।