बार्सिलोनासँग स्पेनिस ला लिगाको शीर्षस्थानमा एक अंकले पछाडि परेको रियल म्याड्रिडको समस्या झन बढेको छ। म्याड्रिड आज राती ९ बजे एइबारविरूद्ध मैदानमा उत्रिँदैछ। तर, खेलभन्दा अगाडि नै म्याड्रिडले चोटका कारण आफ्नो स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई गुमाएको छ।
यसले प्रशिक्षक जिनेदिन जिदानको समस्या बढेको छ। यसै साता लस पाल्मसविरूद्धको खेलमा रातो कार्ड पाएका गारेथ बेललाई २ खेलमा प्रतिबन्ध लागेको छ। त्यसैले उनी आजको खेलमा मैदानमा देखिने छैनन्। यस्तो अवस्थामा रोनाल्डो पनि चोटका कारण बाहिरिनु म्याड्रिडका लागि ठूलो धक्का हो।
म्याड्रिडले लिगको शीर्षस्थानमा पुनरागमन गर्न एइबारलाई उसैको मैदानमा हराउनु पर्ने आवश्यकता छ। खुट्टाको नसा तन्किएपछि रोनाल्डोले शुक्रबारको अभ्यास सत्र छोडेको प्रशिक्षक जिदानले बताएका थिए।
तीन गोलले पछाडि परेको अवस्थामा अन्तिम ४ मिनेटमा दुई गोल गर्दै रोनाल्डोले लस पाल्मसविरूद्धको खेललाई ३–३ को बराबरीमा राख्न महत्वपूर्ण योगदान गरेका थिए। रोनाल्डोले ला लिगाको २० खेलमा १८ गोल गर्दै रियल लस ब्लान्कोसको सर्वाधिक गोलकर्ता बनेका छन्।
यी दुई प्रभावकारी खेलाडीको अनुपस्थितिमा जिदानले लुकास भेजक्युज, मारियानो वा मार्कोस असेन्सियोलाई उतार्ने सम्भावना छ। अल्भारो मोराटा पनि दुई वटा पहेँलो कार्डका कारण आजको खेलमा अनुपस्थित रहनेछन्। एइबार हाल ३९ अंकका साथ लिगको सातौं स्थानमा छ।