सुन्दरीजलदेखि चोभारसम्म हुने वाग्मती सफाइ महाअभियानको २०० औँ हप्ताको पदयात्रामा नजिक पर्ने नदी किनारमा यही फागुन २८ गते सहभागी हुन सबैलाई आह्वान गरिएको छ।
महाभियान, प्रचारप्रसार समितिले आज सूचना तथा सञ्चार मन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा समितिका संयोजक एवम् मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले वाग्मती सभ्यतालाई जीवन्त बनाउन सबैले सफाइ महाअभियानमा योगदान पुर्याउनुपर्ने बताए। “सफाइमा सहभागी हुन नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलगायत दूरसञ्चार सेवा प्रदायक संस्थामार्फत मोबाइलमा सन्देश पठाउनेछ, आमसञ्चारमाध्यमलाई पनि यो सामाजिक मुद्दालाई सहयोग पु¥याउने गरी समाचार, लेख रचना प्रकाशन एवम् प्रसारण गर्न अनुरोध गर्दछु”–उनले भने।
कार्यक्रममा सूचना विभागका महानिर्देशक वीरबहादुर राई, गोरखापत्र संस्थानका महाप्रबन्धक सुशील कोइराला, महाभियानकर्मी डा राजु अधिकारी, सन्तोष श्रेष्ठ, हेमराज कार्की, अर्जुन धरेललगायतले २०० औँ हप्ताको कार्यक्रममा आयोजना हुने सुन्दरीजलदेखि चोभारसम्मको पदयात्रामा सहभागिता जुटाउन सबैले भूमिका खेल्नुपर्नेमा जोड दिए।
सुन्दरीजलदेखि चोभारसम्मका १८ स्थानमा पदयात्रा गर्न सरकारका १८ सचिवलाई जिम्मेवारी तोकिएको छ । दुई सयौँ हप्ताको मूल कार्यक्रम शङ्खमूलमा गरिनेछ । विसं २०७० जेठ ५ गतेदेखि प्रत्येक हप्ता शनिबार बिहान ७ः३० बजे वाग्मती सफाइ महाअभियान सञ्चालन हुँदै आएको छ। रासस