नेपाल पर्वतारोहण सङ्घ (एनएमए) ले ९ करोड रुपैयाँको लागतमा सुविधा सम्पन्न नयाँ कार्यालय भवन निर्माण गर्ने भएको छ।
गत वर्षको भूकम्पका कारण काठमाडौँको नक्सालस्थित नागपोखरी नजिकै रहेको कार्यालय भवन क्षतिग्रस्त भएपछि सो ठाउँमा उक्त नयाँ भवन निर्माण गर्न लागिएको नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष आङछिरिङ शेर्पाले बताए।
तालिम, कन्फ्रेन्स हलसहितको आधुनिक उक्त साढे छ तलाको भवन दुई वर्षभित्र निर्माण गरिसक्ने उनले बताए।
विभिन्न जिल्लामा रहेका २१ शाखाका कार्यालय पनि उक्तनयाँ भवनमा रहने पनि अध्यक्ष शेर्पाले बताए। सङ्घमा अहिले १३ शाखा रहेको र निकट भविष्यमा आठ शाखा विस्तार हुने जनाएको छ।
पूर्वमन्त्री तथा सङ्घका प्रमुख सल्लाहकार याङ्किला शेर्पाले सङ्घको लामो इतिहास रहेको बताउँदै राजनीतिकभन्दा पनि देशको पहिचानका लागि सङ्घले काम गर्नुपर्नेमा जोड दिए। रासस