वन तथा भूसंरक्षण मन्त्रालयले वन क्षेत्रमा देखापरेका समस्याको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन समाधानका उपायबारे ठोस सुझाव पेस गर्न पाँच सदस्यीय विज्ञ टोली गठन गरेको छ।
मन्त्री शङ्कर भण्डारीको निर्देशनानुसार लामो समय यस क्षेत्रको अनुभव सँगालेका शरच्चन्द्र पौडेल, मोहन बन्जाडे, विजयकुमार सिंह, कमल बास्कोटा र विष्णुहरि पण्डित सम्मिलित विज्ञ टोली गठन गरिएको मन्त्रालयले जनाएको छ।
टोलीले जडिबुटी तथा अन्य वनस्पतिको दिगो व्यवस्थापन, पर्यापर्यटन वृद्धिका लागि निजी क्षेत्रलाई आकर्षित गर्न आवश्यक नीतिगत र कार्यगत व्यवस्था, काठदाउरा आपूर्तिमा देखिएका समस्या एवं वन क्षेत्रमा भएका अतिक्रमणसम्बन्धी नीतिगत तथा प्रक्रियागत सुझाव दिने जनाइएको छ । मन्त्री भण्डारीको अध्यक्षतामा आज विज्ञ टोली र मन्त्रालयका उच्चअधिकारीबीचको बैठकले यही फागुन २५ गतेदेखि विज्ञटोलीले काम सुरु गर्ने निर्णय गरेको छ । रासस