सप्तरी घटनाको बिरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको २ दिने जनकपुर बन्दको असर परेको छ। नेकपा एमालेको मेची–महाकाली अभियान अन्तर्गत सोमबार सप्तरीमा आयोजित सभा बिथोल्न गएका केहीको प्रहरीको गोली लागि मृत्यु समेत भएपछि भएपछि मोर्चाले त्यसको विरोधमा २ दिने धनुषा बन्द आह्वान गरेको हो।
बन्दका कारण जनकपुरको बजार, शैक्षिक संस्था, यातायात पूर्ण रुपमा ठप्प रहेको प्रहरीले जनाएको छ। बन्दलाई सफल बनाउन मोर्चाले लाठी जुलुस प्रर्दशन गरिरहेको छ।
प्रदर्शनकारीहरुले बजारका मुख्य–मुख्य चौकमा टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन । मोर्चाका कार्यकर्ताहरुले जनकपुरको पिरारी चौकमा एउटा टिपर र ट्रयाक्टरमा समेत तोडफोड गरेका छन ।
मोर्चाको बन्दलाई विजयकुमार गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले समेत समर्थन गरेको बताइएको छ। मोर्चाका कार्यकर्ताहरुले जनकपुरको जनक चौकमा महिला अधिकारकर्मीहरुले मनाइरहेको अन्र्तराष्ट्रिय नारी दिवस समेत बिथोलिदिएका छन्।
एमालेको शान्तिपूर्ण सभामा हिंसात्मक गतिबिधि संचालन गर्न खोजेको भन्दै राष्ट्रिय मानव अधिकार आयोग लगायतका अधिकारीबादी संघ/संस्थाले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको आलोचना गरेका छन्। हिंसात्मक घटना हुन थालेपछि एमालेले पनि प्रदेश नम्बर दुईमा सञ्चालन हुने तीन दिने कार्यक्रम समेत स्थगित गरेको छ।