प्रधानमन्त्री पुष्पकमल दाहालले आज मन्त्रिपरिषद् विस्तार गरेका छन्।
विस्तारित मन्त्रिपरिषद्मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्रीको जिम्मेवारी दिइएको छ।
राष्ट्रपति भवन शीतल निवासमा बिहिबार आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त उपप्रधानमन्त्री थापालाई पद तथा गोपनीयताको सपथ खुवाएकी हुन्।
यस्तै आजै राप्रप्राका तर्फबाट नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री दिलनाथ गिरीलाई पनि राष्ट्रपतिले पद तथा गोपनीयताको सपथ गराइन्। यो सँगै दाहाल मन्त्रिपरिषद अब ४५ सदस्यीय भएको छ। माओवादी कोटाबाट मन्त्री भएका स्थानीय विकास मन्त्री हितराज पाण्डे फिर्ता भएका छन्। उनलाई पशुपंक्षी मन्त्रालय सम्हाल्न आग्रह गरेपनि उनले नमानेपछि फिर्ता भएका हुन्।
दाहाल मन्त्रिपरिषदमा तीन उपप्रधानमन्त्री, २६ मन्त्री, १५ राज्य मन्त्री हुनेछन्।
मन्त्रिपरिषद्मा केही हेरफेरसमेत गरिएको छ। पर्यटन तथा संस्कृतिमन्त्री रहेका जीवनबहादुर शाहीलाई खानेपानी तथा सरसफाइमन्त्री तथा खानेपानीमन्त्री प्रेमबहादुर सिंहलाई विज्ञान तथा प्रविधि मन्त्रालयको कार्यभार तोकिएको छ ।
राप्रपाका तर्फबाट पर्शुराम तामाङलाई पर्यटन तथा संस्कृति राज्यमन्त्रीको जिम्मा दिइएको छ। उनको पद तथा गोपनीयताको सपथ भने शुक्रबार गराइने भएको छ।
समारोहमा उपराष्ट्रपति, मन्त्रिगण, संवैधानिक अङ्गका प्रमुख तथा प्रतिनिधि, सांसद एवम् विभिन्न राजनीतिक दलका नेता, सञ्चारकर्मीलगायतको उपस्थिति थियो।