रुकुम जिल्लामा एचआइभी सङ्क्रमितको सङ्ख्या ६० पुगेको छ।
जिल्लामा ३३ जना पुरुष र २७ जना महिला गरेर जम्मा ६० जना सङ्क्रमित रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ।
जिल्लामा पछिल्लो समय जनचेतनाको विकास सँगै एचआइभी सङ्क्रमितहरु समाजमा खुल्न थालेका छन्। उनीहरुले यहाँ “दिगो विकासको लागि सहकार्य नेपाल” नामको एक संस्था खोलेरै आफ्ना गतिविधि सञ्चालन गरिरहेका छन्।
समाजमा एचआइभी सङ्क्रमितलाई हेर्ने दृष्टिकोण भने अझै परिवर्तन नभएको पीडितको भनाइ छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा ३६ जना एचआइभी सङ्क्रमितले खुलेर औषधि सेवन गरिरहेका छन्। बाँकी २३ जनाको अवस्थाका बारेमा भने आफूहरुलाई जानकारी नभएको कार्यालय प्रमुख डा राजेन्द्र जिसीले बताए।
दुई जना सङ्क्रमित जिल्ला बाहिर रहेको बताइन्छ। संस्थाको तथ्याङ्क अनुसार जिल्लाको मुरु गाविसमा सबैभन्दा बढी एचआइभी सङ्क्रमित रहेका छन्। यहाँ पुरुष ७ जना र महिला ३ जना गरेर १० जना सङ्क्रमित छन्। उनीहरुले भने औषधि उपचारमा समस्या हुँदै आएको दुखेसो पोख्ने गरेका छन्। रासस