अज्ञात समूहले आज साझाको एक बसमा आगो लगाएको छ। दिउँसो साढे १ बजे बालाजु बाइपासमा रोकिराखेको बा ४ ख ५६४८ नम्वरको बसमा अज्ञात समूहले आगो लगाएर भागेको थियो।
चालक सदस्यहरु खाना खान गएका बेला सो समूहले बसमा रहेका केही यात्रुहरुलाई खुकुरी देखाई ओरालेर पेट्रोल बम प्रहार गरेका हुन्। घटनालगत्तै स्थानीयको सहयोगमा आगो निभाइएको साझा यातायातका कामु कार्यकारी निर्देशक महेन्द्र राज पाण्डेले जानकारी दिए।
जलाइएको बसलाई अहिले साझाको कार्यालयमा ल्याइएको उनले जानकारी दिए। उनका अनुसार बसका ८ सिट जलेका छन्। कुनै मानवीय क्षति भने नभएको पाण्डेले बताए।
सो बस एयरपोर्ट नयाँ बसपार्क रुटमा संचालन हुँदै आएको थियो। जुनसुकै समूहको बन्द तथा हड्तालका बेला पनि सुरक्षा निकायको सहयोगमा बस संचालन हुँदै आएको छ।