उनी भारतका पूर्व क्रिकेटर हुन्। पछिल्लो समय सोनीबाट प्रसारण हुने कपिल शर्मा शोका एक प्रस्तोताका रूपमा बढी लोकप्रिय छन्।
आफ्नो हाँसोका निम्ति चिनिने नवजित सिंह सिद्धुको नामसँग अब नयाँ परिचय पनि जोडिएको छ। उनी कंग्रेसबाट पञ्जाबका निर्वाचित विधायक हुन्। घोषित मतपरिणामअनुसार नवजीत सिंह सिद्धुले पञ्जाबको अमृतसर पूर्व निर्वाचन क्षेत्रबाट चुनाव जितेका छन्। उनले ४२ हजार ८ सय ९ मत ल्याएका छन्।
पञ्जाबमा कंग्रेसले अत्यधिक बहुमत ल्याएको छ। ११७ सिटको विधानसभामा अहिलेसम्मको घोषित परिणामअनुसार कंग्रेसले ७३ सिट जितेको छ भने ४ सिटमा अग्रता हासिल गरेको छ। आम आदमी पार्टी (आप) दोस्रो स्थानमा रहे पनि अपेक्षाअनुसार सिट ल्याउन सकेन। पहिले यहाँ कंग्रेस र आपबीच तीव्र प्रतिस्पर्धा हुने ठानिएको थियो। तर, अहिलेसम्मको परिणामअनुसार आपले जम्मा २० सिट जितेको छ। त्यस्तै, अकाली दल १४ सिटमा विजयी भएको छ भने भाजपाले जम्मा ३ सिट जितेको छ।