महानगरीय ट्राफिक प्रहरी महाशाखाले होली पर्वलाई लक्षित विशेष सडक जाँचमा कडाई गरेको छ। ट्राफिक प्रहरीले हेल्मेट नलगाई मोटरसाइकल चलाउने, क्षमताभन्दा बढी यात्रु चढाउने, मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने तथा सवारीसाधनमा बसेर लोला हान्नेहरुमाथि कारवाही गर्नुको साथै अवान्छित र अप्रिय घटना हुन नदिनका लागि सवारी जांचमा कडाई गरेको हो।
आइतबार उपत्यकाका विभिन्न ५५ वटा स्थानमा प्रहरी र ट्राफिकको संयुक्त टोलीबाट सुरक्षा जाँच भइरहेको छ। होलीका नाममा उत्श्रृङ्खल गतिविधि गर्नेमाथि कारवाही गर्नका लागि ५५ वटा स्थान निर्धारण गरिएको भएपनि आवश्यकता अनुसार सवारी जांचलाई बढाउने पनि ट्राफिक प्रहरीले जनाएको छ।
बिहान देखि १२ बजेसम्म ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरेर सवारी चलाउने सहित ५ सय ६६ वटा सवारी साधनलाई कारवाही गरेको छ।
प्रहरीले होलीका नाममा जर्बजस्तीरुपमा लोला हान्ने र रंग दल्ने, होहल्ला गर्ने तथा नियमविपरित सवारीसाधन चलाउने जो सुकैलाई कारवाहीको दायरामा ल्याउने बताएको छ। प्रहरीले आईतबार अबेर रातिसम्म नै संयुक्त चेकिङ प्वाइन्टमार्फत मापसे जाँच गर्ने भएको छ।