शशांक मनोहरले अन्तर्राष्ट्रिय क्रिकेट महासंघ(आइसिसी) को अध्यक्ष पदबाट एक्कासी राजीनामा दिएका छन्। उनी ८ महिनाअघि मात्र आइसिसीको अध्यक्ष नियुक्त भएका थिए। भारतीय क्रिकेट बोर्डका पूर्व अध्यक्ष मनोहरले बुधबार आइसिसीलाई आफ्नो राजीनामा सुम्पिएका थिए।
आइसिसीमा भारतको भूमिकालाई कमजोर बनाएको भन्दै पछिल्लो समय उनको ठूलो आलोचना भएको थियो। मनोहरलाई २०१६ मा स्वतन्त्र व्यक्तिको रुपमा कुनै बोर्डसँग सम्बन्धित नभई अध्यक्ष छानिएको थियो। उनको कार्यकाल २ वर्षको थियो।
मनोहर माथि क्रिकेटको सुपरपावर मानिने भारत, इङ्ल्यान्ड र अस्ट्रेलियाको भूमिकालाई कमजोर पारेको र आर्थिक रुपमा बलियो मानिएको भारतलाई घाटामा पुर्याएको आरोप छ। उनले आइसिसीका सिईओ डेभिड रिचर्डसनलाई राजीनामा सुम्पिने क्रममा आफूले बिना कुनै भेदभाव काम गरेको बताएका छन्।
उनले नीजि कारणले राजीनामा गरेको बताएका छन् र आफूलाई सबैबाट सहयोग भएकोमा धन्यबाद भनेका छन्।