महेन्द्ररत्न मावि बरञ्जाबाट मावि तह उत्तीर्ण गरेका विद्यार्थीले चार लाखको छात्रवृत्ति कोष स्थापना गरेका छन्।
महेन्द्ररत्न उच्च मावि पूर्वविद्यार्थी सङ्घका अध्यक्ष लोकेश पुन मगरले गरिब तथा जेहेन्दार विद्यार्थीको पठनपाठनमा सहयोग पुर्याउने उद्देश्यले छात्रवृत्ति कोष स्थापना गरिएको जानकारी दिए। पुनका अनुसार कोषलाई बढाएर १० लाख पुर्याउने लक्ष्य रहेको छ ।
कोषमा जम्मा भएको रकमको ब्याजबाट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ । यसरी छात्रवृत्ति पाउनेमा कक्षा ६ देखि कक्षा १२ सम्मका गरिब, दलित, जेहेन्दार र जनजाति विद्यार्थी रहने पूर्वविद्यार्थी सङ्घका अध्यक्ष पुनले जानकारी दिए।
छात्रवृत्ति सिफारिसका लागि पाँच सदस्यीय उपसमिति गठन गर्ने पनि साधारणसभाले निर्णय गरेको जनाइएको छ । पुन मगरले आफ्नी स्वर्गीय बहिनी ओमकुमारी पुन (शान्ति)को सम्झनामा एक लाखको अक्षयकोषसमेत स्थापना गरिदिएका छन्। यस विद्यालयबाट एक हजार पाँचसयभन्दा बढी विद्यार्थीले एसएलसी र दुईसयभन्दा बढीले दश जोड दुई उत्तीर्ण गरिसकेका विद्यालय प्रशासनले जनाएको छ । रासस