अशक्त र बेसहारा नागरिकको संरक्षणका लागि यहाँ मानवसेवा आश्रम खुल्ने भएको छ।
आश्रम सञ्चालनको लागि बागलुङ नगरपालिका– ३ मा पूर्वाधार तयारीको कामअघि बढेको छ। आउदो वैशाख १ गतेबाट सेवा सुरुवात गर्ने स्थानीय व्यवस्थापक ‘सेभ द युथ’ बागलुङले जनाएको छ।
मनोरोग, अपाङ्गता, गरिबी जस्ता कारणले सहाराविहीन बनेका नागरिकलाई आश्रय दिइने आश्रमका संयोजक मनिष रायमाझीले बताए। 'विभिन्न कारणले घरपरिवार र समाजबाट अपहेलित भएर सडकमा पुगेका नागरिकको संरक्षण गर्ने आश्रमको उद्देश्य हो’ संयोजक रायमाझीले भने।
उनका अनुसार त्यस्ता नागरिकलाई आश्रममा सुरक्षित आवाससँगै शिक्षा, स्वास्थ्य जस्ता आधारभूत सेवा उपलब्ध गराइनेछ । समाजका सबै क्षेत्रको सहयोगमा आश्रमको सञ्चालन र व्यवस्थापनलाई अघि बढाइने भएको छ ।
बीसजना राख्न सकिने क्षमताको आश्रम निर्माणको लागि विभिन्न क्षेत्रबाट सहयोग आउने क्रम सुरु भएको संयोजक रायमाझीको भनाइ छ । ‘युके समाज’ बागलुङले ५० हजार, स्थानीय लक्ष्मणश्री परियारले १५ हजार र कुँडुले सेवा समाज जापानका अध्यक्ष प्रेम आचार्यले ११ हजार आश्रमलाई रुपैयाँ सहयोग प्रदान गरेका जनाइएको छ ।
यस्तै, बागलुङका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेय र आश्रमका संयोजक रायमाझीका बुबा महेन्द्रसिंह रायमाझीले आजीवन मासिक एक हजार रुपैयाँ आश्रमलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्।
सबैको सानो–ठूलो सहयोग जुटाएर आश्रम सञ्चालन गर्न लागिएको आश्रमका सदस्य सचिव हरि रुचालले बताए।
गैरआवसीय नेपाली सङ्घका पूर्व युरोप सह–संयोजक सोम सापकोटाको पहलमा आश्रमको लागि तीन लाख रुपैयाँ सङ्कलन भइसकेको छ । मानवसेवा आश्रमले सफलता पाउँदै गएपछि देशका अन्य जिल्लामा पनि विस्तार गर्ने योजना रहेको आश्रमका अभियन्ताले जनाएका छन् । रासस