चौथो विकेटको पतनपछि क्रिजमा उत्रिएका पिटर हयाण्ड्सकम र साउन मार्श पर्खाल झै मैदानमा टेकेपछि अस्ट्रेलियाले भारतविरुद्धको तेस्रो टेस्टलाई बराबरीमा रोकेको छ। ६३ रनको अवस्थामा ४ विकेट गुमाइसकेको भ्रमणकारी टोलीका लागि हयाण्ड्सकम र मार्शले पाँचौ विकेटका लागि १ सय २४ रनको साझेदारी गरेका थिए।
हयाण्ड्सकमले २ सय बल खेलेर अविजित ७२ रन बनाए। मार्शले पनि १ सय ९७ बल खेल्ने क्रममा ५३ रन बनाएका थिए।
अस्ट्रेलियाले पहिलो ब्याटिङ गर्ने क्रममा पहिलो इनिङमा ४ सय ५१ रन बनाएको थियो। प्रत्युत्तरमा भारतले ९ विकेटको क्षतिमा ६ सय २ रन बनाउदै १ सय ५१ रनको अग्रता बनाएको थियो। अस्ट्रेलियाले पाँचौ दिन सोमबार २३ रनमा २ विकेटको अवस्थाबाट दोस्रो इनिङको सुरुवात गरेको थियो। कङगारुले आज थप ४ विकेट गुमाउदै २ सय ४ रन जोड्यो।
भारतले अस्ट्रेलियाको पुरै विकेट १ सय ५१ भन्दा तल खुम्च्याउन नसकेका कारण खेल बराबरीमा टुँगियो। यसअघि ४ टेस्टको शृंखला १–१ को बराबरीमा छ।
राची टेस्टमा अस्ट्रेलियाका कप्तान स्टिभन स्मिथ र ग्लेन म्याक्सवेल तथा भारतका रिद्धिमान शाहले सतक र चेतेश्वर पुजाराले दोहोरो सतक बनाएका थिए। पुजारा म्यान अफ दि म्याच घोषित भए।