नजिकिँदै गरेको स्थानीय तहको चुनावका लागि जिल्लाका विभिन्न स्थानमा मतदान केन्द्र तोक्ने काम सकिएको जिल्ला निर्वाचन कार्यालय डोल्पाले जनाएको छ।
एउटा वडामा एक मतदान केन्द्र नघट्ने गरी जिल्लाका ४६ वटा स्थानमा ६६ वटा मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन अधिकारी रामबहादुर बुढाले जानकारी दिए।
निर्वाचन आयोगको नियमअनुसार मतदान केन्द्र तोक्दा जनसङ्ख्यालाई आधार मान्नुपर्ने भए तापनि हिमाली जिल्ला डोल्पामा भूगोललाई आधार मानी तोकिएको बुढाको भनाइ छ।
सिन्धुलीमा १३७ मतदानस्थलः
यसैबीच, सात गाउँपालिका र दुई नगरपालिका रहेको सिन्धुलीमा १३७ मतदानस्थल तोकिएको छ।
संविधानसभा २०७० को निर्वाचनमा भन्दा छवटा निर्वाचनस्थल थप गरी १३७ निर्वाचनस्थल तोकिएको जिल्ला निर्वाचन अधिकृत तथा जिल्लास्तरीय मतदानस्थल सिफारिस समितिका सदस्य सचिव रमेशकुमार जोशीले बताए। संविधानसभाको निर्वाचन २०७० मा १३१ निर्वाचनस्थल रहेका थिए।
नयाँ थपिएका मतदानस्थलमा कुसुम प्रावि भद्रकाली, प्रभात मावि रानिवास, जनजागृति मावि कोक्टी, दुधौली मावि वाङ्ग्रिङ फेदी, लाम्पानटार, ज्यामिरे प्रावि कुशेश्वर दुम्जा र निमावि सखौरी, कपिलाकोट रहेका छन्।
जिल्लास्तरीय मतदानस्थल सिफारिस समितिले दुईवटा मतदानस्थललाई स्थानान्तरण गरेको छ। प्रावि भुताहा कपिलाकोटको मतदानस्थललाई प्रावि नवज्योति धमिले कपिलाकोटमा स्थानान्तरण गरिएको छ भने स्वास्थ्य चौकी रानिवासको मतदानस्थललाई वन कार्यालय रानिवासमा स्थानान्तरण गरिएको छ।
प्रमुख जिल्ला अधिकारी तथा जिल्लास्तरीय मतदानस्थल सिफारिस समितिका अध्यक्ष ताराबहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले संविधानसभाको निर्वाचन २०७० को निर्वाचनस्थललाई आधार बनाएर एक निर्वाचनस्थलमा एकहजार मतदाता र बढीमा पाँच घन्टासम्म पैदल यात्रामा पुग्नसक्ने आधारमा मतदान स्थल तोकिएको हो।
जिल्लामा हालसम्म मतदाता सङ्ख्या यकिन हुन सकेको छैन। लगभग एकलाख ७१ हजार १५९ जना मतदाता रहेको जिल्ला निर्वाचन अधिकृत जोशीले बताए। यसैगरी, जिल्लामा रहेका सात गाउँपालिका र दुई नगरपालिकामा मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्य गरी जम्मा ४१३ जना निर्वाचित हुने भएका छन्। रासस