देवकी बिष्टको डकुमेन्ट्री ‘इन सर्च अफ देउकी’ पर्दामा देखाइन सुरु भयो।
देवकी बैतडी पुग्छिन्।
अनुसन्धानका लागि उनले पहिले जति सजिलो होला भन्ने सोचेकी थिइन्, बैतडीको परिस्थिति ठ्याक्कै विपरित हुन्छ। देउकीबारे अनुसन्धान गर्न आएको भन्दा सबै तर्सिहाल्थे। कतिले एनजिओ/आइनजिओका मान्छे भन्दै ‘पैसा कमाउन आएको’ भन्थे। उनी संस्कृतिको अनुसन्धान गर्न आएको भन्दै कुरा सुरु गर्थिन् र घुमिफिरी देउकीमै पुग्थिन्। देउकीबारे बोल्दै गरेका कतिपय दृश्य थाहै नदिई खिचिन्। किनकि, क्यामराअगाडि बोल्ने मान्छे कोही भेटिँदैनथे।
उनले लुकेर खिचेका कति दृश्यहरु डकुमेन्ट्रीमा हालिन्, कतिका अनुहार नचिनिने गरी ‘ब्लर’ गरेर देखाइन्। एकदुई मानिस, जो खुलेर बोले। तर, ती देउकीसम्बन्धित व्यक्ति भने थिएनन्। न देउकीहरु बोल्थे, न देउकीका सन्तान। उनीहरुलाई समाजको डर थियो।
देवकीलाई आफ्नै उमेरका देउकीसँग कुरा गर्न मन लाग्छ।
एक स्थानीय पत्रकारको सहयोगले देवकी ६ घन्टा पैदल हिँडेर पार्वती धामीको घर पुग्छिन्। पार्वतीलाई न क्यामराको मतलब हुन्छ, न एनजिओ/आइएनजिओले आफ्नो अनुहार बेचेर पैसा कमाउला भन्ने सुर्ता! उनी अघिपछि जसरी बोल्छिन्, क्यामराअगाडि त्यसरी नै कुरा गर्थिन्।
डकुमेन्ट्रीमा देवकी पार्वतीको घर पुग्दा उनी महिनावारी भएकी थिइन्। र, उनलाई भनभनी ज्वरो आएको थियो। उनको अनुहार नीलो र कमजोरीले च्यापेको प्रष्ट देखिन्थ्यो। देवकीको समूह त्यस रात पार्वतीकै घरमा बास बस्छ।
(देवकी फर्किंदा पार्वतीलाई उपचार गर्न भन्दै दुई हजार दिएकी थिइन्। त्यतिले उनको उपचार भयो। उनी तंग्रिइन्।)
मानवअधिकार फिल्म महोत्सवको उद्घाटन सत्रमा देखाइएको डकुमेन्ट्री हेरेपछि देवकी बिष्टसँग देउकीप्रथा र उनको खोजबारे लामो कुराकानी भयो। मैले पार्वतीको सम्पर्क नम्बर मागेँ।
भोलिपल्ट फोन गरेँ।
‘हजुर, म माथि साउजीको दोकानमा सामान लिन जाँदैछु,’ पश्चिमे लवजमा पार्वती बोलिन्। भोलिपल्ट फेरि फोन गरेँ।
‘हजुर, गाईबल्लु चराउन जंगल आयाछु।’
बैतडीको शंकरपुर गाविस, कोखेतकी यी तीस वर्षे देउकीलाई मैले उनको घर देखेझैं गरी सोधेँ, ‘घरदेखि कति पर नि?’
‘नजिकै हो।’
डकुमेन्ट्रीमा फर्याकफुरुक गर्ने, निकै जाँगरिला र हँसिला दुई छोराहरु देखिएका थिए।
‘छोराहरु कहाँ गए नि?’
‘बाबुहरुको परीक्षा लाग्या छन्। स्कुल गया छन्,’ उनले भनिन्।
उनीसँग जुन फोनमा कुरा भइरहेको थियो, त्यो मोबाइल करिब दुई वर्षअघि उनका दाइले ल्याइदिएका हुन्। ती दाइ अहिले मजदुरीका लागि भारतमा छन्। यो मोबाइलमा बेला–बेला दुई दाइ र एक दिदीको फोन आउँछ। न्यास्रो लाग्दा पार्वती बेला–बेला आफैं पनि फोन गर्छिन्। सय रुपैयाँ रिचार्ज गरे महिनाभरिलाई पुग्दो रहेछ। फोन गर्ने र गर्नुपर्ने आफन्त तिनै मात्र हुन्। हुन त, पार्वतीका आफन्त नै त्यति मात्र छन्।
फोन नहुँदा, बोल्न मन लागेका बेला कुरा मिल्ने उनका आफन्त नै थिएनन्। अचेल दुई छोराबाहेक मनको कुरा साट्न फोन साथी बनेको छ। छोराहरु स्कुल जाँदा चकमन्न भएका बेला फोनको घन्टीले उनलाई झसंग पार्छ। आफन्तका फोन आए फुरुंग पर्छिन्। नआए आफैं रिङटोन बजाउँछिन्। उनलाई त्यसको संगीत खुब मन पर्छ। फोन झिलिमिली बल्छ, उनलाई रमाइलो लाग्छ। पार्वती त्यही फोनसँग कहिले रुन्छिन्, कहिले हाँस्छिन्। फोन हातमा परेदेखि सानै भए पनि रमाउने एउटा बहाना भेटेकी छन्।
त्यही फोन– जसले उनलाई आफ्ना अँध्यारा दिन पनि सम्झाइदिन्छन्। उनलाई त्यसै–त्यसै भक्कानो छुट्छ।‘अहिले त पहिलेजस्तो दुःख लाग्दैन,’ उनी भन्दै थिइन्, ‘पुराना दिन सम्झँदा त रुन मन लाग्छ नि।’
सायद लाग्दो हो, ती मोबाइलका धुनहरु कर्णप्रिय संगीत होइनन्, आकाशका गड्याङगुडुङ हुन्!
झिलिमिली बत्ती बल्दा लाग्दो हो, आकाशै जलाउँलाझैं बिजुली चम्किएका हुन्।
किन उनलाई यस्तो छटपटी?
पार्वतीलाई ठ्याक्कै याद छैन, ५/६ वर्षको हुँदा आफ्नो जीवनमाथि क–कसले के–कस्तो खेलवाड गरे। उनले गाउँलेबाट सुनेअनुसार उनलाई पचास हजारमा बेचिएको थियो। बेच्नेमा दुई दाइमध्ये एक हुन्। जसले उनलाई त्यो फोन उपहार दिएका थिए।
...
नेपालका अधिंकाश इतिहास पत्याउनै नसकिने किसिमका छन्। सुदूरपश्चिम क्षेत्रमा व्याप्त देउकीको इतिहास त्यस्तै एउटा पत्याउनै मुस्किल पर्ने खालको छ। इतिहासकारहरुकै मत बाझिएका छन्। इतिहास नै फरक–फरक भेटिन्छन् भने किंवदन्ती त अनेक हुने भइहाले। विकिपिडियामा पाइने एक किंवदन्तीअनुसार जुम्लाका जैका मल्ल वंशज राजा खानदानका एक राजा नागी मल्लले डोटी राज्यमाथि कब्जा जमाए।
डकुमेन्ट्रीको अनुसन्धानका लागि पत्रकार देवकी बिष्टले पढेकामध्ये पदमराज जोशी लिखित पुस्तक ‘कालो पातल’अनुसार १४ औं शताब्दीमा नागी मल्लले छिमेकी राज्यमाथि कब्जा जमाउँदै गएपछि नागी मल्ललाई आफू नै सबैभन्दा ठूलो भन्ने भ्रम चढ्यो। पहिले उनले तान्त्रिक शक्ति भएकाहरुसँग जोरी खोजे। धामीझाँक्रीको शक्तिको परिक्षण गर्न भन्दै उनले डाँडाका टुप्पामा लगेर काम्न लगाए। काम्दै गर्दा धामीहरु खसेर मरे।
यसरी धेरै धामीझाँक्रीलाई मारेपछि उनले देउतासँग पनि प्रतिष्पर्धा गर्ने निर्णय लिए। भागेश्वर देउतासँग उनले ‘कोभन्दा को ठूलो’ भन्ने विवाद गरे।
नागी मल्लले भागेश्वरलाई भारी वर्षा गराउन चुनौति दिए। देउताले चुनौति स्वीकारे र क्षणभरमै बादल–बादल जुधाएर घनघोर वर्षा गराइदिए। नागी मल्लको राज्य काम्न थाल्यो।
नागी मल्ल हारे, भागेश्वरले जिते।
विजेता भागेश्वरले नागी मल्लको राज्य अनिष्ट हुने भन्दै श्राप दिए। नागी मल्ललाई श्राप लाग्यो। अनि, उनले प्रार्थना गरे, ‘मैले तिम्रो शक्ति चिनेँ प्रभु! मेरो घमण्ड तोडियो। तिमी नै ठूलो हौ।’नागी मल्लले यति भन्दै देउताका लागि गरेका केही भाकलमध्ये एउटा देउका र देउकी सेवाका लागि चढाउने वचन दिए।
गढवालबाट राज्यविस्तार गर्दै आएका सेनाले विपक्षी राज्यका महिलाहरुलाई बलात्कार गरेका थिए। तिनका सन्तानलाई ‘लम्ड्या’ भनिन्थ्यो। ती सन्तानलाई धनीहरु दास बनाउँथे। नागी मल्लले तिनै लम्ड्यालाई देउका र देउकी बनाएर मन्दिरमा चढाए। ती सधैंका लागि देवी र देउता कहलिने घोषणा पनि गरे।
पछि नागी मल्ल जुन–जुन राज्यमा पुग्थे, सबै ठाउँमा उनले यो प्रथा चलाए। यसरी चढाइएकी देउकीलाई चढाइने पक्षबाट छोरासरह अंश दिने घोषणा पनि भयो। वर्षेनी तिनका पालनपोषणका लागि अन्न र लुगाफाटो दिनुपर्ने नियम बनाइयो। तर, उक्त देउकीले कहिल्यै बिहे गर्न नपाउने तर, सम्भोग गर्न भने पाउने नियम बन्यो। यो उनीहरुको स्वतन्त्रताका लागि होइन, पुरुषले भोग गर्न बनाइएको नियम थियो।
पुरुषप्रधान समाजमा देउका चाँडै स्वतन्त्र भयो। अरुका बराबरीमा सेवाभोग गर्न नपाए पनि देउकीको तुलनामा देउकाले मन लागेको काम गर्न थाल्यो।
देउकीले बिहे गर्न नपाए पनि ऊ बसेको घरमा पुरुषहरु यौनसम्पर्कका लागि धाउन थाले। कति त बलात्कृत पनि हुन्थे। यसरी फरक–फरक पुरुषसँगको संसर्गबाट बच्चा जन्मँदै गए। ती सन्तान पनि स्वतः देउका/देउकी हुन्थे।
अहिले पहिलेको डोटी राज्यअन्तर्गत नौ जिल्ला पर्छन्। समयक्रमसँगै अरु जिल्लाहरुमा देउकीप्रथा घट्दै गयो। बैतडीमा रहेका देवीका सात शक्तिपीठमा भने अहिलेसम्म देउकी चढाउने चलन कायम छ। घटेका छन्, तर निमिट्यान्नै भएका छैनन्।
...
पार्वती त्यही सात शक्तिपीठमध्ये एक शक्तिपीठमा चढाइएकी देउकी हुन्। छोरा नजन्मँदा, आफ्नो मनोकांक्षा पुरा नहुँदा मानिसहरु भाकल गर्छन्। भाकल पुरा भए धनीहरुले महँगो मूल्यमा बालिका किनेर देउकी चढाउने गर्छन्। देउका/देउकीबाट जन्मिएका सन्तान नै धनीहरुको पहिलो रोजाई हुन्। किनकि, पुस्तौंदेखि देउकी चढाइँदै आएका उनीहरु गरिब छन्।पार्वतीको परिवार पनि गरिब थियो। उनकी आमालाई पनि उनलाई जस्तै देउकी चढाइएको थियो। आमाबाट दुई छोरा र दुई छोरी जन्मिए। तर, ती सबैलाई आफ्ना बाबु को हो, थाहा छैन।
पार्वती कान्छी हुन्। उनले थाहा पाउँदैमा उनकी दिदीले बिहे गरिसकेकी थिइन्। आमा सानैमा बितिन्। पार्वतीलाई हेक्का छैन, त्यतिबेला के भयो? पछि थाहा पाइन्, आफ्नै दाइले पो बेचिदिएका रहेछन्।
५/६ वर्षको उमेरमा देउकी चढाइएपछि उनले १६ वर्ष पुग्दासम्म आफ्नो जन्मथलो बस्न पाइन्। १५ वर्ष पुगेपछि दाइले भने, ‘तिमी देउकी हौ। देउकी चढाइएकी चेलीले घर बस्नुहुँदैन। अब तिमीले घर छोडेर जानुपर्छ।’
हुन त उनले गाउँलेबाट पहिलेदेखि नै सुन्दै आएकी थिइन् कि, उनी देउकी हुन्। तर, उनलाई पुरै पत्यार भने थिएन। दाइले भनेपछि नपत्याउने कुरै भएन।
उनले रुँदै घर छाडिन्।
घरदेखि पैदल ४/५ घन्टा पर कोखेत भन्ने गाउँमा उनलाई ‘देउकी चढाउने बा’ले अंशस्वरुप दिएको घर र अलिकति खेतबारी थियो। उनले एक्लै त्यहाँ बस्नुपर्यो।सूदुरपश्चिमको मान्यतामा देउकी भनेका देवी हुन्। तर, त्यस्ती देवी जसलाई मान्छे हुने अधिकार छैन। खोपीका देउता जस्ता हुन्छन्, मान्छे नै भए पनि पार्वतीको हैसियत त्योभन्दा माथि थिएन। देवी भनिए पनि छिमेकीले हेला गर्थे। किनकि, देउकीलाई उनीहरु ‘वेश्या’ मान्थे। उही जातकाले पनि ‘तँ यस्तो जातको’ भन्थे। विशेष पर्वमा मात्र ‘देउताको मान्छे’ भन्दै मान–मर्यादा राख्दा रहेछन्।
उनका वरिपरि थुप्रै छिमेकी थिए। तर, उनलाई त्यो ठाउँ अनकन्टार लाग्थ्यो। देवी भएकाले अरु महिलाले जस्तो गर्न पाउने अधिकार थिएन। उनलाई त्यो ठाउँ छोडेर गाउँलेले थाहै नपाउने गरी भाग्न मन हुन्थ्यो।
‘देवीले विशेष पर्वमा मन्दिर गएर पूजा गर्नैपर्छ भनेका थिए,’ पार्वतीले भनिन्, ‘पूजा गर्न नगए देवी रिसाउँछिन् र काम छुट्छ भनेका थिए। मनमा सधैंभरि त्यही डर गडेर बस्यो।’
सिंगो घरमा उमेर चढिरहेकी एक्ली पार्वतीको यौनशोषण सुरु भयो। पुरुषहरु धाउन थाले। फकाउन थाले। पार्वतीका भनाइमा ती पुरुषहरु चारपाँच बालबच्चाका बाबुदेखि अविवाहितसम्म हुन्थे।
उनको घरमा एक अविवाहित पुरुष दिनैपिच्छे धाउन थाले। सुरुमा त उनले कसैलाई पत्याएकी थिइनन्। अविवाहित भएको र बिहे गर्छु भनेकाले पार्वतीले उसलाई आफ्नो शरीर र मन दुवै सुम्पिइन्। जब पार्वतीको पेटमा बच्चा चल्मलाउन थाल्यो, बिहे गर्छु भन्ने पुरुष भागेर भारत पस्यो। दुई/चार वर्ष उनको आँखा वरिपरि नै परेनन्।
पार्वती गर्भवती हुँदा उनलाई स्याहार गर्न न आफन्त थिए, न हेरविचार गर्ने राम्रा छिमेकी नै। ‘जेठो छोरा जन्मिएको तीन/चार घन्टापछि मात्र छिमेकीले थाहा पाएका हुन्,’ पार्वतीले भनिन्। छोरा हुर्किंद गयो। पार्वती पहिलेजस्तै तन्दुरुस्त बन्दै गइन्। फेरि, छिमेककै लोग्नेमान्छेहरुको आँखा उनीमाथि गड्न थाल्यो। उनको मनबाट पुरुषप्रतिको विश्वास हटिसकेको थियो। तर, बारम्बारको फकाइले फेरि उनको मन पग्लियो। दोस्रो बच्चा गर्भ बस्यो।
देउकीले बिहे गर्नहुँदैन भने पनि आँटिलो साथी पाए पार्वतीले त्यो नियम तोड्ने मन बनाइसकेकी थिइन्। दोस्रोपटक गर्भ बसेपछि ती पुरुषलाई भनिन्, ‘कहिले बिहे गर्छस्?’ती पुरुषले मुख छाड्दै भने, ‘पहिलेको केटालाई भन्न सकिनस्। अब उसको बच्चा पनि मलाई भिडाउन खोज्दैछेस्?’
केही समयपछि त्यो पुरुष पनि गाउँ छोडेर अन्त कतै गयो। अहिले ती दुवै पुरुष उनका आँखा वरिपरि नै पर्दैनन्। भेटिहाले पनि बोल्दैनन्।पार्वतीको मनमा साँचिएको सपना एकपल्ट टुक्रिएर फेरि जोडिएको थियो। त्यस दिनदेखि कहिल्यै नजोडिने गरी टुक्रियो। उनले अठोट लिइन्, अब कुनै लोग्नेमान्छेको कुरा पत्याउँदिन।
जो लोग्नेमान्छेले उनलाई फकाउन थाल्छ, त्यसबेलादेखि उनले समाजलाई भनिदिन थालिन्। ‘सुरुमा यसो गर्यो भन्दा लाज लाग्थ्यो,’ उनले भनिन्, ‘भनिदिए केही गरिदेला कि भन्ने डर पनि लाग्थ्यो। पछि डर र लाज हटाएँ र गाउँलेलाई भनिदिन थालेँ।’
त्यसपछि विस्तारै कम हुँदै गयो। अचेल पनि बेला–बेला फकाउनेहरु भेटिँदा रहेछन्। ‘लफंगाहरु त्यस्तै त हुन्,’ त्यस्ता केटालाई लफंगा नाम दिँदै पार्वती भन्छिन्, ‘अब मलाई कुनै लोग्नेमान्छेको भरोसा छैन। म उनीहरुको कुनै कुरा पत्याउँदिन।’
आठ र पाँच कक्षामा उक्लिँदै गरेका छोराको मात्र उनलाई विश्वास लाग्छ। छोराहरुले ‘हामी पछि कमाउँछौं, राम्रो घर बनाउँछौं, ममीलाई राम्रो लुगा किनिदिन्छौं भन्दा’ उनका मन भरिएर आउँछन्। उनलाई फेरि पुराना दिनको याद आउँछ। छोराहरुले थाहा नपाउनेगरी भक्कानो छोडेर रुन्छिन्।
ती दिनहरु– उनले थुप्रैपटक आत्महत्या प्रयास गरेकी थिइन्।देउकी चढाउनेले देउकीलाई छोरासरह अंश दिनुपर्ने नियम भए पनि पार्वतीलाई एउटा सानो घर र अलिकति खेतबारी मात्र दिइएको छ। अलिकति चामल र वर्षको एक जोर लुगा दिन्छन्।
खेतबारीमा फलेका अन्न मृग, बाँदर, दुम्सीले खाइदिन्छन्। देउकी चढाउनेले महिनाको पाँच सय दिन्थे। एक्लै हुँदा त उनलाई जसो–तसो पुग्थ्यो। तर, जहान बढ्दै गएपछि न खेतबारीको अन्नले पुग्थ्यो, न साहुले दिने पाँच सयले।
यी शारिरीक पीडा त उनका लागि सामान्य नै थिए। पहिले आफ्नै दाइले बेचिदिएको सम्झँदाको पीडा, त्यसमाथि एकपछि अर्को गर्दै फकाएर धोका दिने लोग्नेमान्छेहरु–दिउँसो छिमेकीहरु भेटिँदा जेनतेन दुःख भुल्थिन्। राति एक्लोपनले उनलाई बिछट्टै सताउँथ्यो। उनलाई जीवन बाँच्नु नै व्यर्थ लाग्न थाल्यो। मर्नकै लागि उनले कयौं रात भोकै सुतिन्। डोरी लिएर झुन्डिने तयारी गरिन्। तर जब आँखैअघि हाँस्दै खेलिरहेको छोराहरु देख्थिन्, उनको आत्महत्या योजना रद्द हुन्थ्यो।
छोराकै मुख हेरेर उनले त्यसबेलादेखि उनीहरुको भविष्यका लागि आफू बाँच्नैपर्ने निर्णय लिइन्। देउकी चढाउने माइतीले पैसा दिए पनि नदिए पनि गुनासो नगर्ने, आफैं खटेर काम गर्ने योजना बुनिन्।
‘दिदी मैले तपाईंलाई फिल्ममा देखेपछि कथा सुन्न फोन गरेको।’
सुरुमा उनले भनेकी थिइन्, ‘यस्तो जिन्दगी छ, के कथा भन्नु र।’
‘जे भए पनि सन्तोष मान्नै पर्दो रहेछ,’ अन्तिमतिर आँट भरिएको उनको बोली सुन्न पाइयो, ‘मर्छु भन्दा पनि मरिएन। अचेल पुराना दिन याद आउँदा रुन मन लाग्छ, त्यत्ति हो। नत्र त रमाइलै लाग्छ। भाग्यले यस्तो दिन देख्न नमारेको रहेछ। सन्तोष मान्नै पर्यो। ठिक छ!’
‘केही भन्न लागेको छ दिदी?’
यसो सुन्नेबित्तिकै पार्वती खित्का छोडेर हाँसिन्। र, भनिन्, ‘के भन्नु र?’
तुरुन्तै बोलिन्, ‘छोराको सट्टा छोरी भइदिएको भए मलाई पनि देउकी चढाउन छोरी दे भन्दै आउँथे होलान्। म मरे पनि दिन्नँथेँ। अब अरुले मेरोजस्तो दुःख भोग्न नपरोस्।’