पञ्जाबमा नवजोदसिंह सिद्धु मन्त्री भएपछि भारतका पूर्व क्रिकेटर चेतन चौहानको मन्त्री बन्ने पालो आएको छ।
उनलाई भारतको सबैभन्दा ठूलो राज्य उत्तर प्रदेशको खेलमन्त्री नियुक्त गरिएको छ। चेतन चौहान भारतीय क्रिकेटका पूर्व प्रारम्भिक ब्याट्सम्यान हुन्। उनले भारतका लागि ४० टेस्ट खेलेका छन्।
पछिल्लो समय भारतीय टेलिभिजनमा क्रिकेटको विश्लेषकको भूमिकामा देखिएका चौहानलाई योगी आदित्यनाथ मुख्यमन्त्री भएपछि खेल मन्त्रालयको भूमिका दिइएको हो।
चौहान दुई पल्ट लोकसभामा निर्वाचित भइसकेका छन्। उनी भारतीय राजनीतिमा अहिले मन्त्री बन्ने तेस्रो क्रिकेटर हुन्। सिद्धुभन्दा अगाडि ममता बनर्जीको अगुवाईमा बंगालमा लक्ष्मीरत्न सुक्ला पनि मन्त्री बनेका छन्।
चेतन चौहानले भारतका महान व्याट्सम्यान सुनिल गावस्करसँग मिलेर ११ सतकको साझेदारी गरेका थिए। उनको नाममा एउटा पनि टेस्ट सतक छैन।
उनले आफ्नो डेब्यु टेस्टमा २५ मिनेट ब्याटिङ गरेर १ रन बनाएका थिए। उनी सन् १९८१ को मेलबर्न घटनामा प्रत्यक्ष संलग्न थिए। त्यो घटनामा सुनिल गावस्करले खेललाई प्रभावित पार्न मैदान छोड्ने निर्णय गरेपछि उनलाई नन स्ट्राइकर इन्डमा रहेका चौहानले साथ दिएका थिए।
डेनिस लिली र गावस्करबीचको झगडाको रुपमा हेरिएको यो टेस्टमा गावस्करलाई एलबिडब्लु दिएपछि बबाल सुरु भएको थियो। जसमा गावस्करले खेल परित्याग गर्न चौहानलाई उस्काएका थिए।