संविधानका विवादित विषयमा सहमति जुटाएर चीन जान लागेका प्रधानमन्त्री पुष्पकमल दाहालको प्रयास अधुरै रहेको छ।
आन्दोलनरत मधेसी मोर्चालाईसमेत निर्वाचनमा सहभागि गराउने वातावरण बनाउन लागि परेका दाहाल आज दिभरीनै राजनीतिक भेटघाटमा ब्यस्त रहे। मोर्चाको असन्तुष्टी आंशिक रूपमै भए पनि सम्बोधन गरेर आगामी वैशाख ३१ गतेको निर्वाचनमा सहभागी गराउने वातावरण सुनिश्चित गराउन प्रधानमन्त्री दाहालले केही समय यता संयुक्त कार्यदल बनाएर सक्रियता बढाएका थिए।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार साँझ सत्तारुढ दलसहित प्रमुख प्रतिपक्षी एमाले र मधेसी मोर्चाका नेताहरूलाई बोलाएर सकेसम्म सहमति गरी अघि बढ्न सबैलाई आग्रह गरेका थिए। तर, छलफलमा सहभागी दलका नेताहरुबीच संविधान संशोधनको विषयवस्तुमा छलफल र टुंगो लगाउन सम्भव नभएपछि उक्त बैठक बिना निश्कर्ष टुंगियो।
बैठकबाट बाहिरिने क्रममा संघीय समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनको विषयवस्तुमा छलफल प्रवेश नभए पनि एमालेसहितको उपस्थितिमा भएको छलफल सकारात्मक भएको प्रतिक्रिया दिए।
बैठकमा मोर्चा तत्काल सहमति नभए पनि आपसी छलफललाई निरन्तरता दिँदै प्रधानमन्त्री चीनबाट फर्किएपछि टुंगोमा पुग्ने कुरामा विश्वस्त भएका छन्।
बैठकको शुरूमै प्रधानमन्त्री दाहालले सीमांकनको विषयबाहेक अन्य विषयमा आजै सहमति गरौं भन्ने प्रस्ताव राखेका थिए। तर, प्रमुख विपक्षी दल एमालेका नेताहरुले सत्तारूढ दल र मधेसी मोर्चाले गठन गरेको कार्यदलले छलफल गरेका विषयवस्तुमा अनविज्ञता जनाउँदै तत्काल सहमति गर्न नसक्ने धारणा राखेका थिए।
त्यसपछि प्रधानमन्त्री दाहालले बैठकको अन्तिममा भने, ‘सकभर म आजै हामीहरूबीच सहमति गरी सहमतिका विषयहरू राम्रो वातावरणमा लिपीबद्ध गरेर चीन भ्रमणमा जाउँ भन्न चाहेको थिएँ, तर त्यो आज समय अभावका कारण हुन सकेन। कार्यदलले सहमतिको लागि एमालेसँग निरन्तर छलफल अघि बढाउन आग्रह गर्दै म चीन भ्रमणबाट फर्किएपछि सबै विषयमा टुंगो लगाउँला,’ दाहालको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले सेतोपाटीसँग भने।
दाहालले मधेसी जनताको माग अनुसार संविधानलाई सर्वस्वीकार्य बनाउन तत्काल गर्न सकिने संशोधन गरी बाँकी विषय निर्वाचन पछि गर्न एमाले नेतृत्वसँग आग्रह गरेका थिए।
एमालेसँग यसअघि बसेको दुई पटकको वार्ता सकारात्मक थियो।
आजै दिउँसो सिंहदरबारमा भएको वार्तामा पनि ओलीले सीमांकन थाती राखेर संशोधन पारित गर्न एमालेले सहयोग गरे मोर्चा मान्छ, अनि चुनावमा जान्छ भन्ने आधार देखाउन प्रधानमन्त्रीलाई आग्रह गरेका थिए। ‘मोर्चा त्यसो गर्न तयार हुने हो भने एमालेले यसबारे सकारात्मक ढंगले सोच्न सक्छ। तर बोलेको कुरा पुर्याउनुपर्यो,’ओलीले प्रधानमन्त्री दाहाललाई भनेका थिए।
संशोधनको प्रस्तावलाई सदनमा प्रवेश गराउनै नहुने अडान लिदै आएको एमाले पछिल्लो दिनमा सहमतिका लागि लचक हुदै संवैधानिक विधि र प्रक्रियाबाट अघि बढ्न तयार देखिएको छ।
बैठकमा एमाले नेताहरुले आफ्नो पार्टीले संविधान बमोजिम शान्तिपूर्ण तबरले जनतामा जाने क्रममा मधेसी मोर्चाले सप्तरीमा अवरोध गर्दै आक्रमणको प्रयास गरेकोमा गुनासो गरेका थिए।
फागुन २३ गतेको उक्त घटना पश्चात सामूहिक रुपमा राजनीतिक छलफलमा नजुटेका एमाले र मोर्चाका नेताहरुले बिहिबार बैठकमा सहभागी भएर आफ्ना आफ्ना असन्तुष्टि शिष्ट ढंगले नै राखेको एक नेताले बताए।
एमाले नेताहरुले मोर्चाको विरोधबारे राखेको गुनासोबारे जवाफमा फोरम नेपालका अध्यक्ष यादवले विषय र परिस्थिति अनुसार आफ्ना गतिविधि नगरी जनतामा उत्तेजना फैलाउने काम कसैले पनि गर्न नहुने धारणा राखेका थिए।
कांग्रेस सभापति शेरबहादुर देउवाले समस्याको समाधान गरी संविधानको कार्यान्वयनमा सबै राजनीतिक शक्ति एक भएर लाग्न आग्रह गरेका थिए।
कार्यदलका सदस्य तथा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले कार्यदलभित्र विषयमा सकारात्मक छलफल भए पनि कुनै पनि विषयमा टुंगो लागिनसकेको भन्दै सकभर आजै सबै दलका शीर्ष नेता सहभागी बैठकमा टुंगो लगाउन आग्रह गरेका थिए।
त्यसैगरी मोर्चाका तर्फबाट सहभागी कार्यदल सदस्य लक्ष्मणलाल कर्णले कार्यदलभित्र कुरा सकारात्मक भए पनि समाधानको टुंगो कहिले लाग्ने हो भनि प्रश्न गरेका थिए।
उनले संविधानमा भाषा, नागरिकता र राष्ट्रियसभामा प्रतिनिधित्वको विषय तत्काल संशोधन गरी अघि जाने हो भने सीमांकनको विषयमा के कसरी कहिले समाधान हुनसक्छ त्यसको स्पष्ट र विश्वसनीय कुरा आउनुपर्ने माग गरेका थिए।
पछिल्लो समय एमालेले संशोधन प्रक्रियामा देखाएको सकारात्मक धारणाले मात्रै अहिलेको समस्या समाधान नहुने भन्दै कर्णले संविधान संशोधन र समास्या समाधानमा सहयोग भूमिका खेल्न आग्रह गरेका थिए।
बैठकमा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूहरु प्रमुख दलबाट आश्वासन मात्रै नभइ समस्या समाधान खोजिरहेको बताए।
बैठकबारे जानकारी दिदै माओवादी प्रवक्ता पम्फा भूसालले प्रधानमन्त्री चीनबाट फर्केपछि दलहरुबचि सहमति गरी समस्या समाधान हुनसक्ने बताइन्।