निर्वाचन आयोगले यसपटकको मतदाता शिक्षा केवल मतदानका लागि मात्र नभएर उम्मेदवार बन्न र निर्वाचित भएपछि कामको जिम्मेवारी बहन गर्नसक्ने ढङ्गबाट प्रदान गर्ने भएको छ।
त्यसका लागि आयोगले निर्वाचनसँग सम्बन्धित कानुन, निर्देशिकासहित ५४ लाख थान हाते पुस्तिका, पम्प्लेट र नमुना मतपत्रको मुद्रण गर्ने तयारी गरेको छ।
आयोगका सहसचिव नवराज ढकालका अनुसार मतदान शिक्षाका लागि प्रत्येक मतदान केन्द्रमा कम्तीमा पनि एक जना स्वयम्सेवक खटाइनेछ। मतदानमा कोही नछुटून् र कोही पनि नदोहोरिउन् भन्ने उद्देश्यले आयोगले पत्रपत्रिका, रेडियो, टेलिभिजनका अतिरिक्त यसपटक सामाजिक सञ्जाल फेसबुक, ट्वीटर तथा मोबाइल एप्पको पनि प्रयोग गरेर मतदाता शिक्षालाई प्रभावकारी तुल्याउने योजना बनाएको छ। मतदाता शिक्षा राष्ट्रिय भाषामा मात्र नभएर स्थानीय र क्षेत्रीय भाषामा पनि प्रदान गरिनेछ।
आयोगले यसपटकको निर्वाचन २०५४ सालको जस्तो स्थानीय निकायको मात्र नभएर नयाँ संविधानअनुसारको संरचनाको गठन र स्थानीय सरकार निर्माणसँगै क्षेत्र, वर्ग र समुदायको प्रतिनिधित्वको सुनिश्चितासँग जोडिने भएकाले निर्वाचनको दायित्वलाई चुनौती र अवसरका रुपमा लिएको छ।
समानुपातिक र समावेशी सिद्धान्तलाई आत्मसात् गरेको यसपटकको निर्वाचन उम्मेद्वारी दिने मात्र होइन, कतिपय वर्ग र समुदायका लागि पहिलोपटक जित्ने अवसरका रुपमा पनि रहनेछ। त्यसैले पनि आयोगले मतदाता शिक्षालाई देशैभर मतदाताको घरदैलोमा सघन ढङ्गबाट लैजाने जनाएको छ। कतिपय स्थानमा आयोगले नमुना मतदान गरेर पनि मतदातालाई शिक्षित तुल्याउने योजना बनाएको छ।
स्थानीय निकायको निर्वाचनका लागि करिब २१ हजार मतदान केन्द्र हुने प्रारम्भिक अनुमान गरिएको छ। मतदाता शिक्षाका लागि सामाजिक परिचालक, मातृशिशु सुरक्षा कार्यक्रममा सहभागी र शिक्षकलाई खटाउने आयोगको सोच छ।
मतदाता शिक्षा दिलाउन खटिने २१ हजार स्वयम्सेवीलाई प्रशिक्षण दिन आयोगले ३५४ जनालाई तालिम प्रदान गरिसकेको छ। आयोगले मतदाता शिक्षाका लागि ३५ करोड रुपैयाँ खर्च लाग्ने जनाएको छ। केही जिल्लामा सामुदायिक विद्यालय एकीकृत भएका र कतिपय स्थानमा जनसङ्ख्या वृद्धि भएका कारण विगतमा रहिआएका मतदान केन्द्रका बारेमा पुनर्विचार गर्नुपर्ने अवस्था रहेको आयोगको भनाइ छ।
जिल्लामा दर्ता भएका राजनीतिक दलको सङ्ख्यालाई आधार मानेर आयोगले स्थानीय निकायको निर्वाचनका लागि छ प्रकारका मतपत्रको छपाइ गराइरहेको छ। स्थानीय निकायको निर्वाचनमा कुनै पार्टी विशेषमा मतदान गर्ने मतदाताले पार्टीको चिह्न अङ्कित एउटै लहरमा सात स्थानमा तथा स्वतन्त्रका लागि भने मतपत्रमा उल्लेखित चिह्न हेरेर स्वस्तिक चिह्न लगाउनु पर्नेछ।
मतपत्र लामो भएकाले एक जनालाई स्थानीय निकायको निर्वाचनमा मतदान गर्न कम्तीमा पनि एकदेखि साढे दुई मिनेट समय लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। आयोगले मतदाता नामावलीको अन्तिम अद्यावधिको काम यही चैत २१ गतेसम्म पूरा भएपछि मतदाता नयाँ मतदाता परिचयपत्रको मुद्रण गर्नेछ। यसपटकको निर्वाचनमा एक करोड ४० लाख मतदाता हुने अनुमान गरिएको छ। नयाँ मतदाता परिचयपत्र विगतको भन्दा निकै गुणस्तर र प्रविधिमैत्री रहने सहसचिव ढकालले जानकारी दिए।
नयाँ मतदाता परिचयपत्रको वितरण कार्य निर्वाचन हुने दिन आगामी वैशाख ३१ गतेभन्दा दुई दिनअघि नै सम्पन्न हुनेछ । आयोगले अहिले मतपत्र, मसी, मतदान केन्द्र र मतदाता शिक्षाको व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ । रासस