प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। चीनको एक साता लामो भ्रमण सकेर बुधबार स्वदेश फर्किएका प्रधानमन्त्री दाहाल बिहिबार साँझ कांग्रेस सभापति देउवासँग भेटवार्ता गर्न बुढानिलकण्ठ पुगेका छन्।
दुई नेताबीच समसामयिक राजनीतिक विषय, संविधान संशोधन गरी निर्धारित मितिमा स्थानीय तहको निर्वाचन सम्पन्न गराउने विषयमा छलफल हुने स्रोतले बतायो।
त्यसका अतिरिक्त दाहाल र देउवाबीच मन्त्रिपरिषदमा वरियताको विषयमा चर्केको विवाद समाधानबारे पनि छलफल हुनसक्ने कांग्रेसका नेताहरुले बताए।
सरकारमा सबैभन्दा ठूलो दलको नेताको हैसियत र सरकार गठनकै बेलादेखि वरिष्ठ उपप्रधानमन्त्रीका रुपमा रहेका गृहमन्त्री विमलेन्द्र निधिभन्दामाथि पछिल्लो समय सरकारमा सहभागी भएका राप्रपा अध्यक्ष एवम् संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापालाई राखेपछि निधिले असन्तुष्टि जनाउँदै आएका छन्।
जसको कारण विगत दुई सातादेखि मन्त्रिपरिषदको बैठक बस्न सकिरहेको छैन।
संविधान संशोधनको विषयमा मधेसी मोर्चा र प्रमुख प्रतिपक्षी दल एमालेसँग शुरु भएको सहमतिको प्रयास प्रधानमन्त्री दाहालको चीन भ्रमणको समयमा मत्थर भएको थियो। तर दाहाल फर्किएको भोलिपल्टै सत्तापक्षका नेता देउवा र मधेसी मोर्चासहित एमालेका नेताहरुसँग वार्ताले गति लिएको हो।
कांग्रेस सभापति देउवाले दाहालसँग भेटवार्ता गर्नु अघि तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग आफ्नै निवासमा आधाघण्टा भेटवार्ता गरेका थिए।