वरिष्ठ कवि एवं संस्कृतिविद् तुलसी दिवसले ‘स्रष्टा मुकुन्द पोखरेल व्यक्तित्व र कृतित्व’ नामक कृतिको विमोचन गर्दै स्रष्टा विना सिर्जना नहुने भएकाले स्रष्टाको महत्वलाई पनि विशेष सम्मान गर्नुपर्ने बताएका छन् ।
सिर्जना अभियानको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि कवि दिवसले स्रष्टाको सम्मान गर्न वा जन्मोत्सव मनाउन कुनै अवसर पर्खन पर्दैन भन्दै यस प्रकारका कृतिको प्रकाशनले पनि स्रष्टाको महत्वलाई स्थापित हुने बताए ।
कृतिमाथि बोल्दै कवि महेश प्रसाईँले स्रष्टा पोखरेलले थोरै लेखे पनि उनमा प्रतिभाको कमी नरहेको बताए। कथाकार धनमान श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा स्रष्टा मुकुन्द पोखरेल, सम्पादक ध्रुव मधिकर्मी र कथाकार मातृका पोखरेलले पनि कृति र स्रष्टाका बारेमा मन्तव्य व्यक्त गरे ।
कथाकार ध्रुब मधिकर्मीद्धारा सम्पादित पुस्तकमा साहित्यकारहरु डा. जयराज आचार्य, अभय श्रेष्ठ, डा. कृष्णप्रसाद दाहाल, डा. रामदयाल राकेश, धीरकुमार श्रेष्ठ, दामोदर पुडासैनी, शशी लुमुम्बु लगायत दुई दर्जन भन्दा लेखकहरुबाट स्रष्टा पोखरेलका बारेमा लेखिएका कृतिपरक समालोचना टिप्पणी र संस्मरणहरु छन्।