नेपाल कम्युनिस्ट पार्टी (मसाल) केन्द्रिय कार्यालयद्वारा लिखित ‘चीन र भारत साम्राज्यवादी देश हुन वा होइनन्?’ भन्ने पुस्तकको विमोचन गरिएको छ।
सोमबार राजधानीमा आयोजित एक कार्यक्रमबीच सो पुस्तकको विमोचन गरिएको हो।
कार्यक्रममा पार्टीका प्रवक्ता रामप्रकाश पुरीले अहिले भारत र चीनमा एकाधिकार पुँजीको विकासका कारण यी दुवै देश साम्राज्यवादी भएको र विश्व एकाधिकार पुँजीको वरिपरि घुमिराखेको अवस्थामा पुँजीको विकसित रूप नै साम्राज्यवाद रहेको बताएका छन्।
उनले भने,‘आउँदै गरेको पार्टीको महाधिवेशनको विषय वस्तु पनि यिनै कुराहरूमा आधारित रहेकोले यो पुस्तक प्रकाशन गरिएको हो।’
तेस्रो मुलुकका देशहरू अति विपन्न र विकासोन्मुख देशमाथि पुँजीवादी देशहरूले विभिन्न किसिमका उपनिवेश कायम गर्नको लागि पुँजीको उपयोग गर्ने गर्दछन् भन्दै उनले थपे,‘भारत विस्तारवादी देशभन्दा बाहिर आएर उदारवादी बनेको छ, अबको समाजवाद युद्ध, हतियारले नभएर आर्थिक र वैज्ञानिक विकासले अगाडि बढ्छ ।’
कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका महासचिव जनकराज शर्माले उक्त पुस्तकमाथि आफ्नो धारणा राख्दै भारत एकाधिकार पुँजीमार्फत विश्वमा आफ्नो वित्त अधिकार कायम गर्न लागिरहेको टिप्पणी गरे।
अहिले अमेरिकी सम्राज्यवादको विश्वमा खतरा रहेको बताउँदै उनले भने,‘विस्तारवाद भारतको चरित्र रहेको थियो भने अहिले साम्राज्यवादतर्फ उन्मुख भैरहेको छ।’