आगामी ४ माघमा देशव्यापी सिनेमा हलमा प्रदर्शन हुने सिनेमा ‘गरुड पुराण’मा अभिनेता कर्मा शाक्यलाई दुई फरक भूमिकामा देखिनेछन्। नायकको रुपमा युवा भूमिका निर्वाह गरेका उनी पौढ भूमिका पनि यो सिनेमामा भएको निर्माण पक्षले खुलासा गरेको छ ।
शनिबार निर्माण पक्षले सार्वजनिक गरेको तस्वीरले कर्मा दुई फरक भूमिकामा रहेको खुलेको हो।
यो सिनेमाका निर्देशक सुवास कोइरालाका अनुसार'गरुड पुराण'मा कर्मा २५ वर्षिय तन्नेरी भूमिकामा छन् । यो भूमिका अनुसार उनी प्रेमीको भूमिकामा छन् । यिनै कर्माले यो सिनेमामा ६० वर्षको भूमिका पनि निर्वाह गरेका छन् । तर यो पौढ भूमिकाको बारेमा उनले खुलासा गरेका छैनन् । निर्देशक कोईरालाले यसबारे प्रकाश पारेका हुन् । सिनेमामा यो भूमिका निर्वाह गर्न उनलाई निकै गाह्रो परेको थियो । तर दुबै भूमिकामा न्याय गरेको सुवासले बताएका छन् ।
कर्माको दोहोरो भूमिका बारे कोईरालाले भने,‘उनको युवा भूमिका मुख्य हो भने पौढ भूमिका सहायक हो । तर युवा भूमिका निर्वाह गर्न जती सजिलो थियो पौढ भूमिका त्यत्तिकै चुनौतीपूण भए पनि दुबै भूमिकालाई कर्माले सफल बनाएका छन् । ’
सुवास कोईरालाले निर्देशन गरेको गरुड पुरुण हास्य प्रधान सिनेमा हो । सिनेमामा कर्मासँगै नाजिर हुसेन, प्रविण खतिवडा, कामेश्वर चौरसिया, लुनिभा तुलाधर, प्रियंका सिंह, कमल देवकोटासहितको अभिनय छ ।
आकाश बराल, बिनोद खतिवडा र सुवासले लेखेको यो सिनेमाको कथा कसम नेपालले तयार गरेका हुन् । सिनेमामा निर्माताको रुपमा अजित प्रजापति र अशोक गौतम रहेका छन् ।
यो सिनेमामा सुसन प्रजापतिको छायाँकन, कोसिस क्षत्रीको संगीत, उज्ज्वल ढकालको सम्पादन रहेको छ ।