पूर्वी नेपालका लिम्बू समुदायले गाउने हाक्पारे। यसमा श्रृष्टिको उत्पत्ति र मानव सभ्यताको कथा गाइन्छ। समुदायका जीवनशैली, विश्वास र जीवनदर्शन परम्परागत मुन्धुमका माध्यमबाट एक पुस्तादेखि अर्कोमा हस्तान्तरण गरिन्छ।
यही हाक्पारे मंगलबार शिल्पी नाटकघरमा प्रस्तुत गरियो। आयोजक रैथाने संगीत समूहको पहिलो संगीत श्रृंखलामा हाक्पारे प्रस्तुत गरिएको हो।
ताप्लेजुङकी गायिका तथा संगीत अनुसन्धानकर्ता झुमा लिम्बू, पाचँथरकी मनु नेम्बाङ र ताप्लेजुङका लोकमान वनेमले हाक्पारे गाए। उनीहरूलाई परम्परा व्यान्डका शम्भु बानिया, पारसमणि सुवेदी, बुद्ध लामा र धर्म गन्धर्वले वाद्यवादनमा साथ दिएका थिए।
विभिन्न बाजासँग हाक्पारेको प्रयोग गर्ने झुमाले पहिलोपटक सारंगीसँग गीत गाइन्। मनुले पाचँथरमा गाइने हाक्पारे सुनाइन्। त्यस्तै, हाक्पारे गाउँदै लोकमान वनेमले हाक्पारे कसरी गाइन थालियो भन्ने प्रसंग पनि जोडे।
‘लिम्बू जातिको उत्पत्ति श्रृष्टिकालदेखि सांगीतिक रहेको छ। हाक्पारे संगीत लिम्बूहरूको मुन्धुममा आउँछ,’ उनले भने, ‘हुरीबतास चल्दा मान्छेको मन कस्तो भएर आउँछ? त्यस्तो बेला गीत-संगीत गाउने बजाउने चलन सुरू भएको मानिन्छ।’
हाक्पारे गायनसँगै कवि एवं मुन्धुमविद् बैरागी काइँला र समाजशास्त्री चैतन्य सुब्बाले हाक्पारेको विषयमा शोधपत्रसमेत प्रस्तुत गरेका थिए।
बैरागी काइँलाका अनुसार लिम्बू समुदायमा लोकगीत एवं संगीतमा परिकार धेरै छैनन्। बाजा पनि कम छन्। तै जति छन् गहकिला छन्।
‘हाक्पारे पनि अरूका लागि गाइएको होइन रहेछ। आफ्नै मनको बह आफूसँगै भएको साथी र जनसमूहलाई मात्र सम्बोधन गर्न गाइएको हो,’ उनले भने, ‘केटोकटी समूह भएर हाक्पारे गाइरहेको हामी देख्छौं। हेर्दा सामूहिक लाग्छ। तर, उनीहरूले एकअर्कालाई मात्रै सम्बोधन गरिरहेका हुने रहेछन्।’
हाक्पारेमा मायाप्रेमको चर्चा भए पनि सुन्दा विरहपूर्ण लाग्छ। त्यसमा मानिसले जीवन जगतलाई हेर्ने दृष्टिकोणमा सृष्टिको दुखान्त (मृत्यु), जीवनले दिने चोट र चिमोट्याइ विधमान भएको काइँलाले बताए। रातभरि हाक्पारे मात्रै गाउने भगवान लिम्बू समुदायमा भएको प्रसंग पनि जोडे।
समाजशास्त्री चैतन्य सुब्बाले लिम्बू समुदायमा हाक्पारेको प्रयोगको व्याख्या गरे।
‘लिम्बू समुदायमा हाक्पारे आदिम घुमन्ते फिरन्ते युग अर्थात् १० हजार वर्षभन्दा अगाडिदेखि नै गाउने चलन रहेछ भन्ने देखिन्छ,’ उनले भने, ‘एक जनाले गीत गाएपछि केहीले त्यसमा थप्दै, स्पष्ट पार्दै, केहीले प्रश्न गर्दै र विकल्प दिँदै संवादका रूपमा हाक्पारे अघि बढ्छ।’
सुब्बाका अनुसार सामान्यदेखि गम्भीर विषयको उठान हाक्पारेमा हुन्छ। विवाहको समय विवाह र सामाजिक रीतिबारे, गर्भपूजामा शिशुको सुरक्षित अवतरणजस्ता विषय, विशेष जमघट लगायतमा हाक्पारे गाइन्छन्। मनोरञ्जनसँगै ज्ञानको पनि भण्डार भएको सुब्बाले बताए।
हाक्पारे लिम्बूबाहेक मुन्धुम मान्ने समुदाय राई, याक्खाबीच पनि लोकप्रिय छ। पूर्वी नेपालमा हाक्पारे लयमा आधारित भएर नेपाली लगायत भाषामा लोकगीत गाइन्छन्। हाक्पारे लयबाट प्रभावित भई केही आधुनिक तथा पप गीतसमेत रचिएका छन्।
आयोजक रैथाने सांगीतिक समूहका अनुसार प्रत्येक महिनाको अन्तिम मंगलबार सार्वजनिक प्रस्तुति र बहस हुनेछ।