मदन पुरस्कार विजेता राधा पौडेलको दोस्रो कृति ‘अपवित्र रगत’ मंगलबार सार्वजनिक भएको छ। महिनावारीमा केन्द्रित यो किताबमा राधाले आफ्नो अनुभवबाट सुरू गर्दै विभिन्न ठाउँका कथा संगालेकी छन्।
पेसाले नर्स राधा आफ्नो काम सिलसिलामा नेपालका विभिन्न गाउँठाउँ पुगेकी छन्। सोही क्रममा देखे-भोगेका अनुभवहरूको संगालोका रूपमा 'अपवित्र रगत' ल्याएको उनले बताइन्।
उनले ‘मितेरी जैविक स्यानिटरी प्याड’ नामक संस्था सञ्चालनमा ल्याएकी छन्। यो संस्थाले जैविक स्यानिटरी प्याड उत्पादन गर्दै आएको छ। हाल परीक्षणमा भएकाले बजारमा उपलब्ध भइसकेको छैन।
राधाले आफ्नो यही संस्थामार्फत् हुने विभिन्न अनुसन्धान क्रममा भेटिएका महिनावारीका कथा किताबमा समेटेकी छन्। नेपालमा महिनावारीलाई 'पाप' को संज्ञा दिनेको अझै पनि ठूलो जमात छ। महिनावारीको रगतलाई अपवित्र मान्दै महिलाहरूमाथि विभेद हुन्छ। पिछडिएका गाउँमा महिनावारी बेला गोठमा बस्दा धेरै महिला र उनका कलिला छोराछोरीले ज्यान समेत गुमाएका छन्।
यस्तै गाउँठाउँका 'महिनावारी कथा' समेट्दै राधाले आफ्नो दोस्रो कृति सार्वजनिक गरेकी हुन्।
‘यो केटी कर्णालीतिर डुल्छे क्यार! कर्णालीका दुःख त लेखेकी होला भन्ने कुनै पूर्वाग्रहका साथ पुस्तक नपढिदिनुहोला,’ पुस्तक सार्वजनिक क्रममा पौडेलले भनिन्, 'यो हाम्रा हरेक छोरीचेलीको कथा हो। सुन्दा सामान्य लाग्ने तर समाजको जटिल समस्या हो।'
किताबमाथि टिप्पणी दिँदै पूर्वन्यायाधीश अनुपराज शर्माले 'आफ्नो पीडा पीडितले नै लेख्नुपर्छ' भन्ने किताबले उदाहरण दिएको बताए। ‘यो किताब पढ्दा राधा पौडेल एक विद्रोहीको रुपमा देखिन्छ। समाजमा भएको रुढीवादीमाथि उनले विद्रोह गरेकी छन्,’ उनले भने।
'अपवित्र रगत' काठमाडौं पब्लिकेसनबाट प्रकाशन गरिएको हो। यसको मूल्य ३ सय ५० रूपैयाँ छ। यसअघि राधाको मदन पुरस्कार विजेता कृति ‘खलंगामा हमला’ प्रकाशित छ।