युवा लेखक भूपिनको पहिलो उपन्यास 'मैदारो' को आवरण सार्वजनिक भएको छ। उपन्यासको विषयवस्तु अनुसारको आवरण आर्टिस्ट 'सचिन यगोल श्रेष्ठ'ले तयार पारेका हुन्।
यथार्थवादी सामाजिक विषयवस्तुलाई कल्पना र विम्बात्मकरूपमा प्रस्तुत गरिएको मैदारोलाई बुक-हिल पब्लिकेसनले बजारमा ल्याउन लागेको हो। यो उपन्यासले एक आर्टिस्टको प्रेम कथा भन्छ। ऊ 'अँधेरी गाउँ'मा जन्मिन्छ जहाँ मानिसले जन्माएको भाषाले नै मानिसलाई छुत-अछुत भनेर वर्गिकरण गरिदिन्छ। जहाँ मानव जीवनलाई सुन्दर र सार्थक बनाउन आविष्कार गरिएको भाषाको चरम दुरुपयोग गरिन्छ र भनिन्छ, 'जन्मैले म छुत, तँ अछुत। जन्मैले म पवित्र, तँ अपवित्र। जन्मैले म अमृत, तँ विष।' मूलत: यो उपन्यास 'उजेली गाउँहरू' को खोजी हो।
'सानैदेखि नै उपन्यासकार बन्ने सपना देख्थेँ। मैदारो मेरो त्यही सपनाको परिणति हो। कविता र निबन्धभन्दा ढिला जन्मिएको भए पनि यो मेरो स्वप्निल जन्म हो। प्रिय जन्म हो।' उपन्यासका बारेमा लेखक भूपिन भन्छन्, 'विश्वास छ- पाठकहरूले मेरा कविता र निबन्धलाई झैँ यस उपन्यासलाई पनि प्रेम गर्नु हुने छ।'
३६४ पृष्ठको उपन्यासको मूल्य ४५०/- राखिएको छ। पुस्तक फागुन अन्तिम साता सार्वजनिक हुने बुक-हिलले जनाएको छ। यसअघि उनका हजार वर्षको निन्द्रा र सुप्लाको हवाई जहाज कविता संग्रह र चौबीस रिल निबन्ध संग्रह प्रकाशित छन्।