बिहीबारबाट काठमाडौंको राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डको हलमा ‘दोस्रो नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’ सुरु भएको छ ।
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्र्चण्ड’ले महोत्सवको बिहीबार उद्घाटन गरेका हुन्। उद्घाटन समारोहमा नेपाली सिनेमा' हरि' प्रदर्शन गरियो ।
पाँच दिनसम्म चल्ने फेस्टिवलमा ३१ देशका पाँच दर्जन सिनेमा देखाइनेछ। सिनेमा प्रदर्शनका अलावा महोत्सवमा विभिन्न विषयमा छलफल पनि चलाइनेछ।
कार्यक्रममा बोल्दै पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री दाहालले चलचित्र संस्कृति आदानप्रदानका लागि यो महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताए । आफ्नो पहिलो कार्यकालमा नेपाली चलचित्रको विकासका लागि नीतिनिर्माणसहित विभिन्न कार्य गरेको पनि अध्यक्ष दाहालले स्मरण गरे ।
सो महोत्सवका निर्णायक प्रमुख एवं चलचित्र निर्माता निर्देशक कलाकार नीर शाहले फेस्टिवलमा सिनेमा हेर्न बिताएको समय सिकाइका हिसाबले महत्वपूर्ण हुने बताएका थिए । पोखराबाट सुरु भएको यो महोत्सव दोश्रो वर्षमै अझ ससक्त भएको उनले बताए ।
त्यस्तै अभिनेता सुनिल थापाले विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सवको अनुभव सुनाउँदै यो महोत्सव अरू अन्तर्राष्ट्रिय महोत्सवभन्दा कम नभएको जिकिर गरे । क्याराभानका निर्देशक एरिक भ्याली, अग्रज हास्य कलाकार मदनकृष्ण श्रेष्ठलगायतले महोत्सवको सफलताको कामना गरे ।
महोत्सवको दोश्रो दिन शुक्रबार १० सिनेमा देखाइदैं छ भने 'सिनेमामा महिला' तथा 'सिनेमा उद्योगका लागि चुनौती' गरी दुईवटा विषयगत: छलफल राखिएको छ। १० बजे हुने पहिलो छलफलमा रेखा थापा, दिपाश्री निरौला र संगीता श्रेष्ठ प्रमुख वक्ता रहेका छन् भने साढे दुई बजे हुने छलफलमा आकाश अधिकारी, प्रदिप उदय, हेमराज बिसी तथा रविन्द्र सिंह बानियाँ प्रमूख वक्ता रहेका छन्।