फागुन ११ गते शनिबार जीवनकै खुसीको दिन बन्यो लोकगायिका डीक्रा बादीको जिन्दगीमा। यो दिन उनले पहिलोपटक एकल गायनमार्फत थरिथरिका दर्शक तथा श्रोताको मन जित्न पाइन्। लामो समयको अन्तराल पछि गायनमा फर्किएकी डीक्राका आँखामा खुसीका आँसु टलपल थिए।
जब एकल डेउडा गायन कार्यक्रमको उद्घोषण गरिरहेका कवि एवम् सुदूरपश्चिमका सांस्कृतिक अभियन्ता हेमन्त विवशले उनलाई मञ्चमा बोलाए। तब उनी हँसिलो मुद्रामा उभिएर सबैलाई अभिवादन गरिन्। अनि एकै छिनमा पति कित्थ्या बादीको सारंगीको तालमा जीन्दगीका आलाप रेट्न थालिन्। क्षणभर दर्शकहरुलाई भावुक बनाइहालिन्।
कार्यक्रममा उनले ५ वटा दोहोरी पनि गाइन्। दोहोरीमा उनलाई कित्थ्या र गायिका झुमा लिम्बुले साथ दिएका थिए। ठाडी भाकामा विरह पस्केकी गायिकाले दोहोरीमा प्रेमिल शब्द पस्किइन्।
एउटा दोहोरीमा पति कित्थ्यासँग मायापिरतिको रमाइलो संवाद गरिरहँदा हलमा खचाखच भरिएका दर्शकले निकै रमाइलो मानेका थिए।
दर्शकले ताली पिटिरहे। ‘वान्स मोर’ भनिरहे । यसरी दुई घन्टा वितेको पत्तै भएन।
राष्ट्रिय नाचघरमा खचाखच दशर्कबीच बडा आत्मविश्वासका साथ उनले गाइन्। उनलाई संगीतमा सृजनशील युवाहरु शम्भु बानियाँ, हरि गुरूङ, पारसमणि सुवेदी, कृष्ण साउँदेन लिम्बु र सञ्जीब मैनालीले साथ दिएका थिए।
पचासको दशकदेखि एल्बम निकाल्न थालेकी डीक्रा पछिल्लो एक दशकदेखि ओझेल परेकी गायिका हुन्। कोइली कण्ठ भएकी उनलाई गायनमा पुनरागमन गराउन पर्यटनकर्मी युवाहरुको संस्था कन्सेप्ट नेपालले काठमाडौंमा उतारेको हो।
कन्सेप्ट नेपालको होस्टेमा रैथाने संगीत समूह काठमाडौं र अलिमियाँ लोकवाङमय प्रतिष्ठान पोखराले हैंसे गरेका छन्।
डेउडा सुन्नै भनेर दमौलीका गीतकार सागर उदास आफ्ना पाहुनासहित काठमाडौं आइपुगेका थिए। ‘यति मिठो कोइलीको जस्तो स्वर रहेछ’, उनले प्रतिक्रिया दिए, ‘डोट्याली स्वाद चाख्न पाउँदा आनन्द आयो।’
ठाडी भाकाको आलापमा देवु वोराले कलात्मक नृत्य पस्केर सबैको ध्यान तानेका थिए।
कार्यक्रमको सफलताबाट आयोजकहरु उत्साहित बनेका छन्। कन्सेप्ट नेपालले गत जेठमा आयोजना गरेको ‘खप्तड काव्य–यात्रा’ दौरान लोकगायिका बादीलाई सम्मान गर्ने योजना बनाएको थियो। तर पाठेघरको समस्या उपचार गर्न उनी भारतमा पुगेकी थिइन्।
त्यसैले उनको सम्मान गरिएको थिएन। त्यतिबेला डोटीको शैलेश्वरी मन्दिर हातामा सुदूरपश्चिमको लोकसंस्कृति संरक्षणमा योगादन पुर्याएका नाटककार धनबहादुर मल्ल, डेउडा गायक गोपाल पार्की र हुड्केली कलाकार पदम नेपालीलाई जनही दश हजार रुपैयाँसहित सम्मान गरिएको थियो।
त्यही कार्यक्रममा कन्सेप्ट नेपालले डीक्रा बादीको काठमाडौंमा एकल गायन गर्ने घोषणा गरेको थियो। ‘अब डीक्रा दिदीको गायन यात्राले पुनः गति लिनेमा आशावादी छौं’, एकल डेउडा गायन कार्यक्रमका संयोजक एवं पत्रकार अमृत भादगाउँलेले भने, ‘यो कार्यक्रम डीक्रा दम्पत्तिको जीवनको टर्निङ प्वाइन्ट बन्ने छ ।’
कार्यक्रम सफल बनाउन विभिन्न व्यक्ति र संस्थाले सहयोग गरेका थिए। तिनमा रैका टुर्स एण्ड ट्रेक्सका प्रबन्ध निर्देशक अमरबहादुर शाही, हिमाल डेण्टल अस्पतालका अध्यक्ष डा. राजेन्द्र भट्ट, मनास्लु पदमार्गका अभियन्ता लाक्पा ढुण्डुप लामा, प्रगतिशील युवा सशक्तिकरण केन्द्र जिरीका अध्यक्ष लिलाराम खड्का छन्।
यस्तै रसुवा ट्रेक्सका सञ्चालक गगनराज न्यौपाने, कैलाली विद्या निकेतन धनगढीका संस्थापक प्रिन्सिपल टोपेन्द्र शाह, दमौलीका गीतकार सागर उदास, चैतन्य इन्स्टिच्यूट अफ म्यानेजमेन्ट शंखमुलका सिइओ गणेश जोशी, सिद्धार्थ विद्यापिठ गठ्ठाघरकी प्रिन्सिपल दीपिका रिमाल थापा, हिमालय मिलन मावि ताङतिङका प्रधानाध्यापक ओमप्रकाश गुरुङ, करबाकेली इको ट्रेकका अभियन्ता चामबहादुर पुन, डोट्याली गीतकार हर्क साउँद, द आर्ट ग्लो साइन प्रा.लि. सोह्रखुट्टेका प्रमुख कृष्णगोपाल श्रेष्ठ लगायतले सहयोग गरेका थिए।
नगदसहित सम्मान
कन्सेप्ट नेपालले लोकगायिका डीक्रालाई नगद पचास हजार रुपैयाँ र कदरपत्र प्रदान गरेर कार्यक्रम सुरू गरेको थियो। संगीतकार बुलु मुकारूङले कदरपत्र र कवि श्यामलले नगद हस्तान्तरण गरेका हुन्।
शनिबार खुसी माथि खुसी थपियो। डीक्रा दम्पत्तिको मुहारमा छाएको खुसी देखेर कन्सेप्ट नेपालका संयोजक पवन शाक्य र कवि एवम् सांस्कृति अध्येता हेमन्त विवश पनि उत्तिकै खुसी बनेका थिए।
कार्यक्रमको हल बाहिर राखिएको चन्दा बाकसमा दशर्कहरुले करिब ४५ हजार रुपैयाँ दान गरेका थिए। त्यो रकम पनि पाउँदा डीक्रा दम्पत्तिको मुहारमा चमक छायो। त्यतिमात्रै होइन, गीतकार हर्क साउँदले उनको उपचारमा लाग्ने सम्पूर्ण खर्च व्यहोरिदिने घोषणा गरे।
त्यसैगरी गायिका शोभा थापाले डीक्राको एउटा गीत रेकर्ड गरेर भिडियोसमेत बनाइदिने उद्घोष गरेकी छिन्।
यसरी लोकगायिका डीक्रा बादीको जीवनमा खुसी बोकेर आयो फागुन ११ गते।
थप तस्बिरहरू