नाटक ‘भोको घर’ मा मध्यवर्गीय एक परिवारको कथा समेटिएको छ।
उनीहरू नाटक अवधिभरि खाना अनि भोककै प्रसंगमा निकालिरहन्छन्। यो नाटक करिब ३० वर्षअघि गोविन्द बहादुर मल्ल (गोठाले) ले लेखेका हुन्। केदार श्रेष्ठको निर्देशन रहेको यही नाटकसहित नाटकघर ‘थिएटर मल’ पुनः सञ्चालनमा आएको छ।
करिब दुई वर्षदेखि बन्द नाटकघर ‘थिएटर मल’ मा अन्तर्राष्ट्रिय नाटक महोत्सवको अवसर पारेर मंगलबारबाट कीर्तिपुरमा सञ्चालनमा आएको हो।
राराहिल स्कुल परिसरमा रहेको नाटकघरमा नाटक सुरू हुनुअघि विभिन्न झाँकीसहित लाखे नाच एवं ‘अर्केस्ट्रा’हरू प्रदर्शन गरिएको थियो।
कार्यक्रममा कीर्तिपुरका नगर प्रमुख रमेश महर्जन, नेपाली बालसाहित्यका पिता शन्तदास मानन्धर, दुर्गालाल श्रेष्ठ, कलाकार अस्मिना रञ्जित लगायतको उपस्थित थियो।
‘मैले सानोमा आफैंले पनि नाटक गरेको थिएँ। आफ्नै ठाउँमा नाटकघर देख्न पाउँदा निकै खुसी लागेको छ,’ नगर प्रमुख महर्जनले भने।
त्यसैगरी, शन्तदास मानन्धर र दुर्गालाल श्रेष्ठले कीर्तिपुरमा नाटकघर खुल्नु खुसीको कुरा भएको बताए।
यसअघि, ‘थिएटर मल’ सुन्धारास्थित काठमाडौं मलमा सञ्चालनमा थियो। यहाँ नाटक ‘भोको घर’ पहिले नै प्रदर्शन भइसकको थियो। यो नाटकले त्योबेला करिब ३ लाख रुपैयाँ कमाएको थियो।
अन्तर्राष्ट्रिय नाटक महोत्सवभरी थिएटर मलमा प्रत्येक दिनको १ बजेबाट विभिन्न देशका नाटकहरू प्रदर्शन गरिनेछन्।
यहाँ डेनमार्कको नाटक ‘टु बि’, अफ्गानिस्तानको नाटक ‘ते रेहाय’, नेपाल‘झापा’ को ‘गैंडा टाइम्स’, सोलुखुम्बुको ‘आरान’, भारतको ‘हेलन’ र मुगुको ‘गर्भ चक्र’ नाटक प्रदर्शन हुनेछ।
महोत्सवमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय गरेर २८ नाटक छन्।
नेपालसहित भारत, अफ्गानिस्तान, इटाली, बंगलादेश, म्याकडोनिया र डेनमार्कका नाटक छन्।
मंगलबार थिएटर मलमा नाटक ‘भोको घर’ बाहेक शिल्पी नाटकघरमा म्याकडोनियाको नाटक ‘प्राइभेट कन्फेसन’ र कैशी नाटकघरमा जनकपुरको नाटक ‘किशोरी’ प्रदर्शन गरियो।
बेलुकी ६ बजे मण्डला नाटकघरमा भारतको नाटक ‘ब्ल्याक एण्ड वाइट’ प्रदर्शन हुँदैछ।
महोत्सवअन्तर्गत हरेक दिन चार नाटक मञ्चन हुनेछन्। सबै नाटकघरमा रंगमञ्चसम्बन्धी फोटोहरू समेत राखिएको छ।
‘सामाजिक रूपान्तरणका लागि कलात्मक अभिव्यक्ति’ भन्ने नारासहित सोमबारबाट महोत्सव सुरू भएको हो।
सोमबार मण्डला नाटकघरमा विभिन्न झाँकी एवं बाजागाजासहित उद्धघाटन गरिएको थियो।
रंगकर्ममा लामो समयदेखि योगदान पुर्याएका १२ जनालाई सम्मान पनि गरियो। साथै, सत्यमोहन जोशीको किताब ‘सुनकेशरी’ पनि विमोचन भएको छ।
महोत्सव फागुन २० गतेसम्म चल्नेछ।