‘जनावर हामी रहौँला कहाँ जङ्गल नै नरहे...
सर्वश्रेष्ठ तिमी रहौँला कहाँ जनावर नै नरहे।’
नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०१९ को पाचौं दिन कीर्तिपुरस्थित रङ्गमञ्च थिएटर मलमा ‘गैंडु’ माधवप्रसाद घिमिरेद्धारा लिखित ‘नेपालै नरहे’ कविताको भावमा आफ्नो पीडा पोख्छ।
‘गैंडु’ बर्दिया राष्ट्रिय निकुञ्जको गैंडा हो, जो आफ्नो बुबाको चोरी भएको खाग खोज्न काठमाडौं पसेको छ।
बुद्धिसागरको लेखन, प्रवीण खतिवडा र सिजन दाहालको नाट्य रूपान्तर र सिजनको निर्देशनमा मन्चन गरिएको नाटक ‘गैंडा टाइम्स’ पशु अधिकार र मानव चरित्रको कथा हो।
नाटक बर्दियाको जङ्गलबाट सुरु हुन्छ जहाँ जनावरहरू शिकारीको डरले आफ्नो ज्यान बचाउन भागिरहेका छन्। पहिचानको रूपमा रहेको आफ्नो बाबुको खाग चोरिएपछि सामाजिक मर्यादामा आएको कमी परिपूर्ति गर्न खाग फिर्ता लिन काठमाडौं हिडेको गैंडुको वरिपरि कथा घुम्छ।
पैसा र आफ्नो स्वार्थका लागि जुनसुकै हदसम्म गिर्न सक्ने मानिसलाई इङ्गित गर्दै 'मान्छे जस्तो नबन है' भनेर एकले अर्को गैंडाले भनेको संवादले सबैभन्दा विवेकशील प्राणी मानिएको मानिस विस्तारै विवेकहिन बन्दै गएको यथार्थ उजागर गर्छ।
नाटकमा प्रयोग भएको संवाद ‘हरियो छाला भएको जनावरदेखि होइन, हरियो लुगा लगाएको मान्छेदेखि डर लाग्छ’ ले एकअर्काको अस्तित्व स्वीकार्न नसक्ने मानिस जङ्गली कि निरीह पशु जंगली भन्ने प्रश्न उब्जाउँछ।
आफ्नो स्वार्थका लागि मानिसले के के गर्न सक्छ? रक्षकका आवरणमा कसरी मानिस भक्षक हुन्छ? यस्ता प्रश्नको जवाफ नाटकले दिन्छ।
लोपोन्मुख अवस्थामा रहेको गैंडाको कथामार्फत् मानवको असली चरित्र उजागर गरी सीमान्तकृत तथा पिछडिएका समुदायको कथालाई विम्वात्मक ढंगले प्रस्तुत गरिएको छ।
बुबाको खागको खोजीमा काठमाडौं आएको गैंडुलाई आफ्नो फाइदाका लागि विज्ञापनमा प्रयोग गरेको दृश्यले देशको हरेक राजनीतिक परिवर्तनमा ढालका रूपमा प्रयोग गरिएका सीमान्तकृत समुदायको वास्तविकता देखाएको छ।
छ महिनाको अविधिमै गैंडुलाई मानवजस्तो बनाएको दृश्यले हिजो चप्पल लाएर सिंहदरबार छिरेकाहरूको चामत्कारिक रूपमा जीवनशैली फेरिएको यथार्थ चत्रिण गरेको छ।
गैंडाजस्तै चारैतिरबाट चेपुवामा परेका समाजका सीमान्तकृत तथा पिछडिएको वर्गको वास्तविकता यस नाटकमार्फत् हेर्न सकिन्छ।
जनावर र जङ्गल पनि समाजकै हिस्सा हुन्। यसको संरक्षण र सम्वर्द्धन हाम्रै जिम्मेवारी हो भन्ने सन्देश दिएको यो नाटकले पर्यावरणीय महत्वका कुरासँगै समाजको कथा मिहीन ढंगबाट प्रस्तुत गरेको छ।
शुक्रबार प्रदर्शन भएको नाटकमा कान नसुन्नेहरूको सहजताका लागि सांकेतिक भाषाका दोभाषे पनि व्यवस्था गरिएको थियो।