‘मान्छेको जीवन पनि
रूखजस्तै हुनु नि है
शिशिरमा खस्यो
वसन्तमा पलायो
तर त्यस्तो हुँदैन
मान्छेको जीवन खस्यो त खस्यो’
कलाकार नाजिर हुसेनले गितारको मधुर धूनसँगै यी शब्द वाचन गरिरहँदा दर्शकहरू भावमा डुबिरहेका थिए। नेपाली रङ्गमञ्च र सिनेमामा परिचित नाजिरको कवि व्यक्तित्वसँग धेरै अपरिचित थिए। पहिलो परिचयमै उनले प्रभाव छाडे।
आमाको सम्झनामा उनले सुनाएको कविताले दर्शकलाई भावुक बनायो।
नाजिरले पहिलोपल्ट कविता सुनाए पनि उनले धेरै कविता डायरीमा संग्रह गरिरहेका छन्। कलाकारिताको दौडमा रहेका उनले ती कवितालाई सार्वजनिक गर्ने मौका पाएका थिएनन्।
नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको अवसर पारेर थिएटर मलले आफ्नो नाटकघर कीर्तिपुर रङ्गमञ्चमा आयोजना गरेको ‘पोयट्री पटरीः रंगकर्मीका कविता’ कार्यक्रममा नाजिरले कविता सुनाउने मौका पाए।
‘पोयट्री पटरी’ मा उनीसँगै रङ्गमञ्च र सिनेमामा परिचित प्रविण खतिवडाले पनि कविता सुनाए।
कार्यक्रममा संयोग गुरागाईं, असीम खनाल, प्रसुन सिन्धुलीय, केदार श्रेष्ठ, समीर पौडेल, क्षितिज समर्पण, सञ्जिता पराजुली, हिरा बिजुली, राज शाह, सविर चुरौटे, गणेश पौडेल, अनुजा अधिकारी, कृष्ण खड्का लगायत रङ्गकर्मीले कविता सुनाए। कवि सौरभ कार्की, कला अनुरागी र निरज बलामीले अतिथि कविका रूपमा कविता सुनाए।
अधिकांश रङ्गकर्मी कवितासँग नजिक रहने भएकाले उनीहरूमा पनि काव्यिक प्रतिभा हुन्छ। त्यसैलाई उजागर गर्न यस्तो कार्यक्रम गरिएको थिएटर मलका कला निर्देशक केदार श्रेष्ठले बताए।
‘यो दोस्रो श्रृंखला हो। यसअघि हामीले रातो घर, रविभवनमा कार्यक्रम गरेका थियौं। अब यो कार्यक्रमलाई निरन्तरता दिनेछौं,’ उनले भने।