विश्व रंगमञ्च दिवस पोखरामा मनाइएको छ।
दिवसको अवसरमा बुधबार पोखरा थिएटरको आयोजनामा ‘नाटक हेर्छ पोखरा’ शिर्षक नेपाल संगीत तथा नाट्य एकेडेमीका निवर्तमान कुलपतिसमेत रहेका वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठले नाटक लेखनदेखि मञ्चनसम्म थुप्रै चुनौतीहरू रहेको बताए।
रंगमञ्चको यात्रालाई अगाडि बढाउन अध्ययन आवश्यक पर्ने बताए। पछिल्लो क्रममा अध्ययन नगरी यो क्षेत्रमा आउनेहरू बढी भएकोमा उनको चिन्ता थियो।
‘नाटक हेर्छ पोखरा भने जस्तै नाटक पढ्छ पोखरा हुनुपर्छ’ श्रेष्ठले भने।
नाटकको भविष्य कता जाँदैछ त्यसतर्फ सचेत बन्दै अगाडि बढ्नुपर्नेमा उनको जोड थियो। पछिल्लो समयमा रंगमञ्चीय गतिविधि पोखरामा हुने क्रममा वृद्धि भए पनि यसलाई टिकाउन सबैको साथ सहयोग र मेहेनत आवश्यक पर्नेमा उनको जोड थियो।
कार्यक्रमका प्रमुख वक्ता कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले पोखराको नाट्य इतिहासको बारेमा प्रष्ट पारे।
पोखरा थिएटर सञ्चालनमा आएपछि एक वर्षको अवधिमा राष्ट्रिय नाटक महोत्सव र अन्तर्राष्ट्रिय नाटक महोत्सवको आयोजना हुनु पोखरेली रंग क्षेत्रको लागि सौभाग्य भएको उनले बताए।
नाट्य क्षेत्रको लागि राज्यको सहयोग सर्पोट नहुँदा पनि व्यक्तिगत तथा संस्थागत रूपमा रंगमञ्चको यात्रा अगाडि बढेको उनको भनाइ थियो।
‘कर्मचारी पाल्न नसक्ने एकेडेमीबाट हामीले के आशा गर्ने?’ उनले भने।
नाटक विधा राज्यबाट आरक्षित हुनुपर्नेमा उनको जोड थियो।
महानगर र प्रदेशको साँस्कृतिक नीति नहुँदा समेत नाट्य क्षेत्रलाई अगाडि बढाउन समस्या भएको उनले सुनाए।
‘यति हुँदाहुँदै पनि नाटक देखाउनुपर्छ, नाटक हेरिनुपर्छ भन्ने प्रयत्नले नाट्य क्षेत्र अगाडि बढेको छ’, उनले भने।
सबैको साथ र सर्पोट भएमा लामो इतिहास बनाएको पोखरेली रंगमञ्चको भविष्य सुमधुर रहने उनको विश्वास थियो।
पोखरा थिएटरको गन्धर्व नाटकघर सञ्चालन भएपछि विभिन्न २९ वटा नाटक मञ्चन भइसकेका छन्। यतिबेला नयाँ नाटक मञ्चन गर्न रिहर्सल समेत भइरहेको पोखरा थिएटरले जनाएको छ ।