फ्रान्समा जारी कान फिल्म महोत्सवले ‘नयाँ सिर्जना’ प्रोत्साहित गर्ने उद्देश्यले यस वर्ष संसारभरबाट छानेका १५ वटा फिल्ममध्ये नेपाली भाषाको एउटा पनि परेको छ।
कानको ‘नयाँ सिर्जना’ मा परेको नेपाली फिल्म हो, फिडेल देवकोटाद्वारा निर्देशित ‘काङ्लिङ’।
यो कानको आधिकारिक प्रतिस्पर्धा होइन। यसमा छानिने फिल्मका निर्देशकले अन्य वरिष्ठ फिल्म निर्देशकहरूसँग संवाद गर्ने, फिल्म गोष्ठीमा भाग लिने तथा निर्माणको निम्ति लगानीकर्ता खोजी गर्ने अवसर पाउँछन्।
नयाँ निर्देशकका लागि यसमा छानिनु भनेको अन्तर्राष्ट्रिय फिल्म मञ्चको अनुभव हासिल गर्ने अवसर पनि हो।
यस वर्ष दक्षिण एसियाबाट पाकिस्तानका निर्देशक इराम परवीन बिलाल निर्देशित ‘वाखरी’ पनि उक्त वर्गमा छनौट भएको छ। यही वर्गमा छानिएका अन्य फिल्ममा चिली, डेनमार्क, स्पेन, फिनल्यान्ड, ग्रिस, इजरायल, म्यानमार, टर्की, नेदरल्यान्ड्स लगायत देशका छन्।
गोरखाका देवकोटाले आफ्नो फिल्म ‘काङ्लिङ’ मा जलवायु परिवर्तनले हिमाली क्षेत्रको जीवनयापनमा पारेको प्रभाव दर्शाएका छन्।
बसाइसराइ तथा हिमाली मानवशास्त्रका अध्येता देवकोटा आफ्नो अध्ययन र अनुभवका आधारमा हिमाली क्षेत्रमा उत्पन्न जलवायु परिवर्तनको संकटबारे जानकार छन्। यही विषयगत विशेषज्ञता उनको फिल्ममा झल्किएको भारतीय अखबार ‘फाइनान्सियल टाइम्स’ को कानसम्बन्धी समाचारमा उल्लेख छ।
‘फिल्ममा अक्सर हिमाललाई रोमान्टिक रूपमा प्रस्तुत गर्ने चलन छ,’ देवकोटालाई उद्धृत गर्दै फाइनान्सियल टाइम्स लेख्छ, ‘यस्तो गर्नु गलत हो भनेर म भनिरहेको छैन। म आफू भने हिमाललाई त्यही रूपमा प्रस्तुत गर्न चाहन्छु, जुन रूपमा मैले देखेँ वा महशुस गरेँ।’
वैशाख ३१ बाट जारी कान महोत्सवको यस वर्षको मूल विषय जलवायु परिवर्तन नै हो। जलवायु परिवर्तनले संसार कसरी विनाशतिर उन्मुख हुँदैछ भन्ने विषयमा आधारित फिल्मबाट यस वर्षको महोत्सव सुरुआत भएको थियो।
अमेरिकी निर्देशक जीम जार्मुक्सद्वारा निर्देशित ‘द डेड डोन्ट डाई’ मृत्युको खतरा मडारिएको एक अमेरिकी गाउँमाथि बनेको छ।
हिमाली क्षेत्रमै हुर्केका देवकोटा जलवायु परिवर्तनको असरलाई नजिकबाट नियालेको बताउँछन्।
‘हिमाली क्षेत्रमा हामी जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव भोगिरहेका छौं। मौसममा विगतभन्दा अप्रत्यासित परिवर्तन देखिन थालेका छन्। तराई क्षेत्रका कतिपय भू-भागमा मरुभूमीकरण बढ्दो छ,’ उनले फाइनान्सियल टाइम्ससँग भने, ‘हिमताल सुक्दै जानु र जमिनमा पानीको सञ्चिति घट्नु जलवायु परिवर्तनकै कारण हो।’
पानीको सञ्चिति घट्दै जाँदा ग्रामीण क्षेत्रमा सिँचाइ र खानेपानीको स्रोत अभाव हुँदै गएको र ग्रामीण बासिन्दाको जीविकोपार्जनमा असर देखिन थालेको उनले बताए।
‘जलवायु परिवर्तनले हाम्रो सामाजिक र सांस्कृतिक जीवनयापनमै असर पारेको छ,’ उनले भने, ‘यही कारणले कतिपय गाउँका बासिन्दा बसाइँ सर्न बाध्य छन्।’
काङलिङ हिमाली क्षेत्रमा बस्ने तीन जनाको जीवनमा आधारित छ। मुस्ताङको हिमाली संस्कृतिमा आधारित यो फिल्मले स्थानीय र वातावरणको जटिल सम्बन्ध दर्शाउँछ।
‘मेरो फिल्मले वातावरणीय तथा राजनीतिक परिवर्तनबाट हिमाली समुदायमा देखिएको सामाजिक तथा सांस्कृतिक परिवर्तन झल्काउँछ,’ देवकोटाले भने।
देवकोटाको अघिल्लो फिल्म पनि हिमाली क्षेत्रको जलवायु परिवर्तनमाथि नै आधारित छ। असी मिनेट लामो उनको अघिल्लो फिल्म लो मुस्ताङमा हावाको दिशा परिवर्तनबारे छ।
उनको आगामी फिल्म ‘शाम्बालाः द स्टोरी अफ प्याराडाइज लस्ट’ ले तिब्बती बौद्धमा आधारित छ।
‘हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव वास्तविक हो भन्ने मेरो निष्कर्ष छ,’ देवकोटाले भने, ‘यो समस्यासँग जुध्न हामीले वैकल्पिक उपायहरू अपनाउनुपर्नेछ।’