गायक शम्भु राई र प्रकाश सपुतबीच चर्केको लामो विवाद साम्य भएको छ।
दुवै गायकले मंगलबार आपसमा सहमति गरी विवाद टुंग्याएका हुन्।
राई र सपुतबीच गीतको लयमा विवाद चर्केको थियो। विगतमा प्रकाशित गरेको ‘देउसी भैली’ गीतको लयसँग ‘गलबन्दी’को लय मिलेको भन्दै राईले त्यसलाई सच्याउन माग गरिरहेका थिए। तर, नसच्चिएपछि उनी प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा उजुरी दिन पुगेका थिए।
सहमतिअनुसार गलबन्दी गीतमा राईको नाम समावेश गरी प्रकाशन गरिने छ। गलबन्दी गीतको हालसम्मको आर्थिक आम्दानी सपुतकै रहने छ।
राईले निवेदन फिर्ता लिने र गलबन्दी विवादलाई साम्य पार्ने सहमति पत्रमा उल्लेख गरिएको छ।
लोकभाकाको ‘गलबन्दी’ गीत सार्वजनिक भएलगत्तै ‘हिट’ भएको थियो।