लमजुङको बेंशीसहर नगरपालिकामा निजी क्षेत्रबाट अत्याधुनिक प्रविधिसहितको ‘स्मार्ट फिल्म सिटी’ निर्माण हुने भएको छ।
पाँच हजार रोपनी क्षेत्रफलमा निर्माण गर्न लागिएको ‘स्मार्ट फिल्म सिटी’का लागि बुधबार नेपालको स्काइ इन्टरटेनमेन्ट प्रा.लि. र इटालियन निर्माण कम्पनी वर्ल्ड एरिया होल्डिङ् एसआरएलबीच सम्झौता भएको छ। निर्माण सम्पन्न भए यो विश्वकै अग्लो स्थानमा भएको स्मार्ट फिल्म सिटी हुनेछ। सो क्षेत्र दुई हजार ६० मिटरदेखि दुई हजार ९०० मिटरको उचाइमा छ।
विश्वस्तरको अत्याधुनिक प्रविधिसहित झण्डै १६ वटा फिल्म छायाङ्कन स्थल निर्माण गर्ने लक्ष्यसहित उक्त परियोजना सञ्चालनका लागि नेपालको स्काइ इन्टरटेनमेन्ट प्रालीका अध्यक्ष आकाश अधिकारी र इटालियन कम्पनीका अध्यक्ष फ्रान्सिस्को सिङ्नोरिल्लोबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको उक्त समारोहमा आफ्ना भनाइ राख्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘स्मार्ट फिल्म सिटी’ नेपालको चलचित्र क्षेत्रकै लागि ‘माइल स्टोन’ भएको बताए। झण्डै छ अर्बको लगानीमा निर्माण हुने फिल्म सिटीको डिपिआरको काम आगामी तीन महीनाभित्रमा सुरु गर्ने परियोजना संयोजक राजेशकुमार पुरीले जानकारी दिए।
उनका अनुसार अधिकतम सात वर्षमा परियोजना सम्पन्न हुने लक्ष्य छ। उक्त परियोजनाअन्तर्गत १६ वटा चलचित्र छायाङ्कन स्थल निर्माण गर्न सकिने भए पनि पहिलो चरणमा भने १२ वटा निर्माण गरिने जनाइएको छ। परियोजनाभित्र तारे होटल, चलचित्रको अध्ययन गर्ने कलेज, केबुलकार, अर्ग्यानिक फार्म, विभिन्न खेलकुदस्थल तथा विभिन्न देश र नेपालको मौलिक पहिचान बोकेका भौतिक संरचना नमूनाका रुपमा निर्माण गरिनेछ।
‘वर्ल्ड स्काइ सिने भिलेज नेपाल’को नाममा निर्माण हुने फिल्म सिटीमा विश्वस्तरको प्रविधि प्रयोग गरेर फिल्म छायाङ्कन गर्ने स्टुडियो बनाइनेछ। हिमालको अगाडि गल्फ, बञ्जीजम्प, प्याराग्लाइडिङ र स्वीमिङ पुलसमेत बन्नेछ।
यस्तै काठमाडौँका महत्वपूर्ण धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वका सम्पदा जस्तै भौतिक संरचना बनाइने स्काइ इन्टरटेनमेन्ट प्रालि नेपालका अध्यक्ष आकाश अधिकारीले बताए। ‘नेपालमा कुनै अत्याधुनिक प्रविधिको छायाङ्कनस्थल छैन, जसका कारण विदेशी चलचित्रकर्मी अर्कै देश जान बाध्य छन्, फिल्म सिटीले उनीहरु यहाँ आएर पूर्ण फिल्म निर्माण गर्न सक्ने छन्,’ अधिकारीले भने।
उनले परियोजना सम्पन्न भएपछि आउट डोर र इन्डोर सबै छायाङ्कन गर्न सक्ने बताए। यस्तै दुई कम्पनीबीच एसिया क्षेत्रको व्यवस्थापन नेपाली कम्पनीले र अन्य मुलुकको व्यवस्थापन इटालियन कम्पनीले गर्नेसमेत सहमति भएको उनले बताए।
वर्ल्ड एरिया होल्डिङ एसआरएल इटालीका अध्यक्ष फ्रान्सिस्कोले सम्झौतापछि सङ्क्षिप्त भनाई राख्दै पहिलो घर रोम रहेको र अब दोस्रो घर नेपाल बन्न लागेको उल्लेख गर्दै नौलो परिवेषमा प्रवेश गरेकामा खुशी व्यक्त गरे। वरिष्ठ चलचित्रकर्मी नीर शाहले राष्ट्रिय चलचित्र उद्योगमा एउटा नयाँ आयाम भएको उल्लेख गर्दै दोलखाको जस्तो हुन नहुनेमा जोड दिए।
इटाली आफैंमा पनि चलचित्र उद्योगको अग्रणी देश भएको स्मरण गर्दै उनले त्यस्तो देशको लगानी भित्रिनु आफैंमा महत्वपूर्ण रहेको बताए। उक्त फिल्म सिटीको सांस्कृतिक र व्यापारिक महत्व ठूलो रहेकोसमेत उनले बताए।
स्थानीय तहको पूर्ण सहयोग उक्त फिल्म सिटी बेंसीशहर नगरपालिका वडा नम्बर ३, ४, ५ र ९ मा पर्ने नगरप्रमुख गुमानसिंह अर्यालले बताए। फिल्म सिटी बन्न लागेकामा खुसी व्यक्त गर्दै उनले प्राकृतिक दृष्यावलोकनका लागिसमेत उपयुक्त स्थान रहेको जानकारी दिए।
उनका अनुसार गाउँ सहर, पुरानोकोट र बाख्रेजगत गाउँको नजिक फिल्म सिटी बन्दैछ। उक्त ठाउँबाट १४ वटा हिमाल नजिकबाट नियाल्न सकिन्छ। यहाँबाट अन्नपूर्ण, मनास्लु, माछापुच्छ्रे, बुद्ध हिमाल, हर्कपिक, धौलागिरि, लमजुङ हिमाल देखिन्छ। शाह वंशको उद्गमस्थल लमजुङ दरबार नजिकै छ।
यसले राष्ट्रका लागि मात्रै नभई विश्वस्तरमा समेत राष्ट्रको गौरव बढाउने उनको विश्वास छ। ‘सबै राजनीतिक सहमति गरेर, नगर परिषद्लेसमेत फिल्म सिटी निर्माणका लागि अनुमति दिने निर्णय गरेको छ, विधि र प्रक्रियामा स्थानीय तहको सकारात्मक सहयोग रहन्छ, कुनै विवाद आउने छैन,’ प्रमुख अर्यालले भने।