पोखरामा प्रदेश नम्बर १ का पर्यटकीय स्थलका फोटो प्रदर्शनी गरिएको छ। पूर्वाञ्चल सेवा समाजको आयोजनामा पोखराको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा फोटो पत्रकार भरतबन्धु थापाले दस वर्ष लगाएर खिचेका २९ वटा फोटा प्रदर्शन गरिएको हो।
फोटो प्रदर्शनीमा विश्वको सर्वोच्च शिखर सगरमाथा, तेस्रो अग्लो हिमाल कञ्चनजंगा, मकालु हिमाल लगायतका २९ तस्बिर पनि राखिएको थियो। धार्मिक तीर्थस्थल पाथीभारा, इलामको चिया बयान, हिन्दु, बौद्ध र किराँतहरुको धार्मिक स्थल हलेसी, प्रदेश नम्बर १ को कला र संस्कृति झल्कने, जनजिवन झल्कने फोटो पनि प्रदर्शनीमा थिए।
अन्तरक्रिया कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका सांसद मनबहादुर गुरुङले पर्यटन विकास र प्रवद्धनका लागि प्रदेश बीच सहकार्य गरेर अघि बढ्नुपर्ने बताए। प्राकृतिक विविधताले विश्वमै धनी भएर पनि त्यसको सहि सदुपयोग गर्न नसक्दा देश पछि परेको भन्दै गण्डकी प्रदेशका सांसद गुरुङले प्राकृतिक स्रोत र साधनको सहि रुपमा सदुपयोग गर्नुपर्ने औंलाए।
आयोजक संस्था पूर्वाञ्चल सेवा समाजका अध्यक्ष डिकबहादुर राईले दुई प्रदेश बीच सहकार्य गरेर पर्यटन विकासका लागि अघि बढ्न सन्देश दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए। पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जिवी पोखरेलले उच्च हिमाल रहेका दुई प्रदेश बीच सहकार्य गरेर पर्यटन विकासका लागि अघि बढ्नुपर्ने सुझाए।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराका प्रबन्धक सूर्य थपलीयाले गण्डकी प्रदेश र प्रदेश नम्बर १ ले उच्च हिमालय क्षेत्रको पदयात्रा र हिमाल आरोहणका लागि पर्यटक आकर्षण गर्न अन्तर्राष्ट्रिय स्तरमा प्रवद्धन गरि पर्यटन विकासमा लाग्न सके पर्यटकहरुको आगमन बढ्ने बताए।
नेपाल पर्यटन बोर्डले उच्च हिमालदेखि तराईको विविधतालाई प्रबद्धन गरि पर्यटन विकासमा लागिरहेको पनि उनले बताए। कार्यक्रम नेपाल पर्यटन बोर्डको प्रबद्धन र फाटो पत्रकार महासंघ गण्डकी प्रदेशको सहयोगमा भएको थियो।